पुरानो अवस्थामा फर्किँदै ट्राफिक प्रहरी
भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशमा भत्काइएको ट्राफिक आइल्याण्डहरु धमाधम पुनःर्निर्माण गर्न थालिएको छ । भक्तपुरका स्थानीय पालिकासँगको समन्वयमा विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड राखिएको छ । जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले सडकमा भएका ट्राफिक आइल्याण्डहरु भत्काएका थिए ।
सबैभन्दा बढी सवारी चाप हुने काठमाडौंको कोटेश्वर, बानेश्वर, जडीबुटी, भक्तपुरको राधेराधे, थिमी, सल्लाघारी, ललितपुरको ग्वार्कोलगायतका सडकमा भएको आइल्याण्ड भत्काइएको छ । जसका कारण ट्राफिक प्रहरीलाई ड्युटी गर्न समस्या भइरहेको छ । उनीहरु जोखिम मोलेरै आफ्नो ड्युटी निर्वाह गरिरहेका छन् ।
ट्राफिक प्रहरीलाई घाम लाग्दा र पानी पर्दा टाउको छेक्ने ठाउँसमेत छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो घटनामा काठमाडौं, भक्तपुर र ललितपुरको ५३ आइल्याण्डमा क्षति पुगेको छ । भक्तपुरका केही स्थानमा भने आइल्याण्ड पुनःर्निर्माण गर्न थालिएको छ । सल्लाघारी, राधेराधे, थिमीमा आइल्याण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार पाँच स्थानमा आइल्याण्ड राखिएको छ । भक्तपुरमा तीन, एकान्तकुनामा एक र कीर्तिपुरमा एक आइल्याण्ड पुनःनिर्माण गरिएको उनको भनाइ छ । काठमाडौंमा भने आइल्याण्ड राख्नका लागि महानगरपालिकासँग समन्वय भइरहेको उनले जानकारी दिए ।
जनआस्थासँग उनले भने,‘पाँच वटा स्थानमा आइल्याण्ड पुनःर्निर्माण गरिएको छ । भक्तपुरमा आइल्याण्ड राख्न स्थानीय पालिकाले सहयोग गरेको हो । काठमाडौंमा आइल्याण्ड पुनःर्निर्माणका लागि महानगरपालिका र सडक विभागसँग समन्वय गर्दैछौं ।’
बन्दैछ प्रहरी बिट
जेनजी प्रदर्शनका क्रममा धेरै प्रहरी बिटमा क्षति पुगेको छ । प्रहरीहरु पानी पर्दा बस्न र सामान राख्न बनाइएको बिट प्रदर्शनकारीहरुले तोडफोड गरेका थिए । तीमध्ये अधिकांश बिट पुनःर्निर्माण भइसकेको छ । सल्लाघारीमा प्रहरीहरुका लागि पहिले टिनको बिट थियो । हाल त्यहाँ पक्की बिट निर्माण गरिएको छ । राधेराधेमा धमाधम प्रहरीको बिट बन्दैछ । पहिलेभन्दा ठूलो र फराकिलो बिट निर्माण भइरहेको छ ।
यता, जडीबुटीमा बिटको निर्माण सम्पन्न भएर प्रहरीहरु बस्न थालिसकेका छन् । ग्वार्कोमा पनि बिटको निर्माण सकिएको छ । अन्य धेरै ठाउँमा बिट निर्माण जारी छ ।
क्षतिग्रस्त भवनबाटै सेवा सञ्चालन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जेनजी प्रदर्शनमा क्षतिग्रस्त बनेको छ । त्यसको बाबजूद कार्यालयले आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ । एनआरएनएको सहयोगमा ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुम पुनःर्निर्माण भएको छ । भवन पनि पुनःर्निर्माण गर्ने काम भइरहेको सूचना अधिकारी एसपी सुवेदीले जानकारी दिए ।
भने,‘भवन पुनःनिर्माण भइरहेको छ । ट्वाइलेट, बाथरुमको अलिक समस्या हो । त्यो पनि बनाउने काम जारी छ । प्रशासनिक सेवा, सचेतना कार्यक्रम सबै सञ्चालन गरिरहेकै छौं ।’
टिप्पणीहरू