कुटाकुट बढेपछि संयमित हुन एमाले सचिवको आग्रह
महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले एकलौटी गरेको चर्चा भैरहँदा नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले पार्टीलाई दुर्घटनाबाट जोगाउन आग्रह गरेका छन् ।
आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले हिजो देशभरबाट प्रतिनिधि छनाेट गर्दा विभिन्न जिल्लामा विवाद भएको थियो । त्यसप्रति चिन्ता व्यक्त गर्दै भट्टराईले आज एक भिडियो वक्तव्यमार्फत विवेकसम्मत निर्णय लिन अपिल गरेका हुन् ।
महाधिवेशनबाट केपी शर्मा ओली पुन: नेतृत्वमा फर्किए पार्टीले चुनावमा नराम्रो परिणाम व्यहोर्नुपर्ने भन्दै उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा जिताउन घुमाउरो आह्वानसमेत गरेका छन् । ‘हामीले आवेग र उत्तेजनाबाट निर्णय गर्न पुग्यौँ भने त्यसले दुर्घटना निम्त्याउँछ’,भट्टराईले भनेका छन्, ‘त्यसैले अहिलेको परिस्थितिमा एमालेलाई जोगाउन कुनै पनि आवेग र उत्तेजनालाई हावी हुन नदिऔँ, कम्तिमा यतिबेला विवेक पुर्याऔँ ।’
पूर्वमन्त्रीसमेत रहेका उनले अध्यक्ष ओली र महेश बस्नेतहरूका पछिल्ला सार्वजनिक अभिव्यक्ति र कार्यशैलीप्रति पनि असन्तोष प्रकट गरेका छन् । ‘शक्तिको भाषा बोलेर हामी कुनै पनि ठाउँमा पुग्न सक्दैनौँ,जनतासँग गरेका वाचा भुल्यौँ भने परिणाम कहिल्यै राम्रो आउँदैन’, अध्यक्षको नाम नलिई भट्टराईले भने ।
महाधिवेशन मिति नजिकिँदै गर्दा यतिबेला एमालेभित्रको गुटबन्दी सतहमा देखिन थालेको छ । अध्यक्षका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुन लागेपछि महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विभिन्न जिल्लामा दुई समूहका नेताहरुबीच कुटाकुटसम्मको अवस्था सिर्जना भएको छ ।
टिप्पणीहरू