ओली पथमा लागे सुदन

ओली पथमा लागे सुदन

भदौ २३ गतेकाे जेनजी प्रदर्शन र २४ गतेकाे विध्वंशले मुलुकलाई ठूलो क्षति पुर्यायाे । शान्तिपूर्ण गर्ने भनिएको जेनजी प्रदर्शनले विध्वंशको रुप लिँदा व्यवस्थापिका (संसद भवन), कार्यपालिका (सिंहदरबार) र न्यायपालिका (सर्वोच्च अदालत)सहित देशभरका विभिन्न सरकारी तथा निजी सम्पत्ति खरानी बने । 

भ्रष्टाचार र बेराजगारीका कारण नैराश्यताको भुमरीमा परेका जनताको हैरानीबारे छुट्टै चर्चा गर्न सकिएला । तर घटनाको वस्तुगत कारकको विश्लेषण गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जति नैतिक जिम्मेवार देखिन्छन्,उत्तिकै जिम्मेवार जेनजी आन्दोलनको ‘स्टेक होल्डर’ दावी गर्ने सुदन गुरुङ पनि रहेकाे कतिपयकाे विश्लेषण छ । मनासिब कुराचाहिँ के छ भने,अहिलेसम्म यी दुवैले घटनाको नैतिक जिम्मेवारी लिएको देखिँदैन,बरु विरोधाभाषपूर्ण अभिव्यक्ति दिदै हिँडेको पाइन्छ ।

‘जेनजी आन्दोलनले सबै नाश मात्र गरेको छैन,केही उपलब्धी पनि दिएको छ,तर तिनलाई जोगाउन हामीले पनि घटनाको जिम्मेवारी लिन तयार हुनुपर्छ’, एक जेनजी अगुवा भन्छन्, ‘यही कुरा सुदन दाइलाई सम्झाइरहेका छौँ, तर उहाँ जसरी पनि सबै जिम्मेवारी तत्कालीन सरकारले नै लिनुपर्छ भनिरहनुभएको छ ।’

अस्ति सम्मान थाप्न गोर्खा पुगेका सुदन भोलि पोखरा जान लागेको बुझिएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद,कास्की जिल्ला कार्यसमितिले उनलाई सम्मान गर्ने कार्यक्रम छ । आफ्नै कारण मुलुकको राजनीतिक कोर्ष उल्टिएको दावीसहित विभिन्न ठाउँमा सम्मान थाप्दै हिँडेका सुदनले सोहीबेला भएको ध्वंश र क्षतिको जिम्मेवारी भने अहिलेसम्म लिएका छैनन् । जसरी ओलीले धरहरा र टियु क्रिकेट मैदान निर्माणको जस लिइरहँदा जेनजी घटनाको नैतिक जिम्मेवारी लिन मानिरहेकाे देखिदैँन ।

 

आफूले भनेको मात्र सही ठान्ने ‘नर्सिसिज्म’ प्रवृत्तिले गुरुङ पनि ओलीकै नयाँ अवतार त होइनन् ? भन्ने ठाउँमा पुर्याउँछ । दुई महिनायता पर्दामा देखिएका तीन दर्जनभन्दा बढी जेनजी समूहमध्ये कतिपय यस्ता पनि छन्, जसले ‘जेनजी आन्दोलनको उपलब्धीलाई संंस्थागत गर्नको लागि भदौ २३ र २४ गतेको घटनाको नैतिक जिम्मेवारी पनि जेनजीले नै लिनुपर्छ’ भनिरहेका छन् । तर गुरुङ भने सबै क्षतिको जिम्मेवारी जसरी पनि तत्कालीन सरकारको थाप्लोमा हालेर आराेपबाट मुक्त हुने रणनीतिमा लागेकाे अवस्था छ । 

‘जेनजी आन्दोलनले सबै नाश मात्र गरेको छैन,केही उपलब्धी पनि दिएको छ, तर ती उपलब्धीलाई जोगाउन हामीले पनि घटनाको जिम्मेवारी लिन तयार हुनुपर्छ’, एक जेनजी अगुवा भन्छन्, ‘यही कुरा हामीले सुदन दाइलाई सम्झाइरहेका छौँ, तर उहाँ जसरी पनि सबै जिम्मेवारी तत्कालीन सरकारले नै लिनुपर्छ भनिरहनुभएको छ ।’

आफूले भनेको मात्र हुनुपर्छ भन्ने अहंकारी चरित्रले यतिबेला अन्य जेनजी समूह चिढिन थालेका छन् । कतिसम्म भने उनीहरुले गुरुङलाई ‘ओलीको नयाँ अवतार’ भन्न थालिसके । गुरुङलाई नजिकबाट चिनेका अर्का जेनजी अगुवाको तर्क छ, ‘हामीले ओली प्रवृतिको विरोध गर्दा यत्रो सबै भयो, अहिले फेरि उहाँ (सुदन) आफै त्यही बाटोमा हिँड्दै हुनुहुन्छ ।’

टिप्पणीहरू