एमाले प्रतिनिधि छनौटको उजुरी परेको पर्यै

एमाले प्रतिनिधि छनौटको उजुरी परेको पर्यै

दाङमा पनि एमालेको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया विवादित बनेको छ । मापदण्ड नपुगेका सदस्यलाई प्रतिनिधि बनाइएको भन्दै केन्द्रीय सल्लाहकार परिषद् सदस्य शारदा स्वर्णकार,प्रदेश सचिवालय सदस्य रामजी चौधरीसहित २० जना नेताले संगठन विभागलाई पत्र पठाएका छन् । एमाले दाङमा गत मंसिर १२ गते सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको थियो । 

जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट २० जना र दलिततर्फबाट तीन जना गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा छनौट गरिएको हो । तर, महाधिवेशन प्रतिनिधि छनौटका निम्ति केन्द्रीय संगठन विभागले तय गरेको कुनै पनि प्रक्रिया पूरा नगरिएको उनीहरुको आरोप छ । 

‘पार्टी सदस्यको नामावली प्रकाशन, प्रतिनिधिका आकांक्षीको सूची प्रकाशन, मापदण्ड पुगे–नपुगेको छानबिन, निर्वाचन समिति बनाउने, आकांक्षीसँग छलफल गर्ने, पार्टी केन्दीय सदस्यसँग छलफल गर्नेलगायत कुनै पनि प्रक्रिया नअपनाई २०८२ मंसिर १२ गते राति पार्टी जिल्ला कार्यालयको सूचना पार्टीमा नाम टाँसी प्रतिनिधिको नामावली घोषणा गरिएको,’ संगठन विभागलाई लेखिएको पत्रमा भनिएको छ । 

साथै, प्रतिनिधि बनेका निर्मला विक, तुलसा पोखरेल, सिता शर्मा चौधरी, सिता चौधरी, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र आशिष योगी (विवेक) को सदस्यता प्राप्ति समयावधि प्रतिनिधि हुन अयोग्य रहेको उनीहरुको ठहर छ । महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको सात वर्ष पुग्नुपर्छ । 

तर, यी आठ जना कसैले पनि सदस्यता प्राप्त गरेको सात वर्ष पुगेको छैन । उनीहरुले जिल्ला पदाधिकारी पाँच जना र आफ्ना नजिककालाई प्रतिनिधि बनाइएको भन्दै सो प्रतिनिधि छनौट प्रक्रिया बदरको माग गरेका छन् । ‘उक्त प्रतिनिधि छनौट प्रक्रिया बदर गरी पुनः प्रक्रिया पूरा गरी मापदण्ड पुरा गरेका सदस्यलाई मात्र प्रतिनिधि बनाउन हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा उल्लेख छ । यसअघि एमाले पर्सा क्षेत्र नम्बर ४, मा पनि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया विवादमा तानिएको थियो ।

टिप्पणीहरू