ट्राफिकको ड्युटीबाटै मज्जाको तरक्की

कामचलाउ सरकारका मन्त्रीहरू बोल्न पाउनासाथ भ्रष्टाचारविरुद्ध आगो ओकल्छन्, यता बूढानीलकण्ठ ट्राफिक प्रहरी भने जनतालाई दुःख दिँदै बिहानदेखि बेलुकासम्म पैसा र रिचार्ज कार्ड छापेर बसेको छ । बूढानीलकण्ठतिर साना तथा ठूला गरी दैनिक करिब २ सय भाडाका सवारी साधन गुड्छन् । यीमध्ये दिनहुँ यो र त्यो मिलेन भनी करिब ३० भन्दा बढी सवारीचालकका रुट पर्मिट, सवारीधनी प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीले समात्ने गर्छ । यसरी आफ्नो कब्जामा लिइएका कागजपत्रको सट्टा प्रहरीले सवारीचालकलाई चिट थमाउने गर्छ । अधिकांश सवारीचालक भोलिपल्टै चिट लिएर हाजिर हुन पुग्छन् । अधिकांश सवारी नियम उल्लंघन भनिएका मामला ठूला र गम्भीर खालका नभए पनि जरिवाना २ सयदेखि १५ सय रुपैयाँसम्मका छन् । जरिवानामा भएको यही मनमाफिक प्रावधानका कारण बूढानीलकण्ठका ट्राफिक प्रहरीलाई चालकसँग दलाली गरी १५ सयबाट शुरु गरेर ५ सयदेखि एक हजारसम्म असुल गर्न सहज भएको छ ।

सवारीचालकसँग जरिवानाबापत लिइएको रकम सोझै सरकारका नाममा जम्मा होओस् र प्रहरी तथा कर्मचारीले अनियमितता गर्न नपाउन् भनी राज्यले बंैकमा जम्मा गर्ने र सोको भौचर पेश गर्ने व्यवस्था मिलाएको हो । तर, बूढानीलकण्ठका ट्राफिक प्रहरी हवल्दार लक्ष्मण यादव र जवान निखिल मिश्र यति चलाख छन् कि चिट लिएर भोलिपल्ट कार्यालयमै बोलाउँछन् । त्यहाँ सवारीचालक आउनासाथ पहिलो चिट फिर्ता माग्छन् । हैरान चालकले चिट दिनासाथ सोझै ५ सयदेखि एक हजारसम्म असुल गर्छन् । पैसा दिन आनाकानी गरे मोबाइलका रिचार्ज कार्ड वा अन्य नगदिला सामान उपहारस्वरूप माग्छन् ।

कतिपय समय त यो दलाली माछा, मासुजस्ता खाद्यसामग्री किनिदिने शर्तमा पनि टुंगिने गरेको छ । दैनिक ३० वटा सवारीसाधनका चिट काट्दा यिनीहरूले सकेसम्म २० भन्दा बढी सवारीसँग पैसा असुल्छन् । यसरी दैनिक १५ जनासँग सरदर ५ सयका दरले मात्र असुल गरे भने पनि मासिक आम्दानी २ लाख २५ हजार हुने देखिन्छ ।

प्रायः सडकमा भइरहने निजी सवारीसाधनबीचको ठोक्काठोक्की र हानाहान त आम्दानीको गहकिलो स्रोत हुने भइहाल्यो । सई पुरुषोत्तम ढकालको आँखा चिम्ल्याइ र नारायणस्थान प्रहरी प्रमुख इन्स्पेक्टर राजकुमार तामाङको कमजोर प्रशासनका कारण पनि लक्ष्मण र निखिलको ज्यादतीले प्रश्रय पाएको हो ।

– भुषण राउत

टिप्पणीहरू