गोलको खडेरी तोडेकै दिन महर्जनको विदाई

गोलको खडेरी तोडेकै दिन महर्जनको विदाई

लामो समयपछि घरेलु मैदानमा नेपाली फुटबलले खुशी फ़र्काएकै दिन कप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सन्यास लिएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेर उपाधि जितेकै दिन सन्यास लिएका महर्जनले सुखद बिदाइ पाएका हुन् ।

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबल यात्रालाई पूर्णविराम लगाउँदै सोमबार नेपालले ३७ वर्षपछि दशरथ रंगाशालामा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुशीसँगै केही भावुक भएका थिए ।

अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई खेलाडी र समर्थकले सम्मान दिएका थिए । बंगलादेशविरुद्धको फाइनल खेल राष्ट्रिय टोलीबाट विराजका लागि ७३औं प्रतिस्पर्धा रह्यो । बैकल्पिक खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाएका हुन् ।

सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराज यसअघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका छन् । कूल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरेका थिए । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेलेका विराजले यसअघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।

थ्री स्टार,मनाङ मर्स्याङ्दीका लागि तीन लिग उपाधि दिलाएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्ष सोलिडारिटी कप नेपालले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराज नै कप्तान थिए । सोही आधारलाई माध्यनजर गर्दा विराज नेपाली फुटबलका सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल खेलाडी बनेका छन् । सन्यासको घोषणा गरेका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिए ।

टिप्पणीहरू