प्रधानमन्त्रीको जिल्लामा यौनधन्दा मौलायो

प्रधानमन्त्रीको जिल्लामा यौनधन्दा मौलायो

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा यौन ब्यापार मौलाउँदै गएको छ । कामको खोजीमा आएका युवतीहरुलाई बन्धक बनाई यौनधन्दा चलाएको आरोपमा दमकबाट प्रहरीले दुईजना महिला समातेको छ ।

प्रहरीले घटनास्थलबाट १७ देखि ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार गरेसँगै यौन धन्दा हुने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले दिएको जानकारीअनुसार बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको छ ।

उनीहरुले दमक नगरपालिका–६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाई यौनधन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ । उक्त घर नेम्बाङको हो ।

पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भनी बन्धक बनाएर यौनशोषण गराउँदै आएको प्रहरीले बताएको छ । उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेश गरी आफन्तजनलाई जिम्मा लगाइसकेको बताइएको छ ।

पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी थापाले बताए ।

टिप्पणीहरू