गायिका बन्ने रहरले जब केटीहरुलाई सिमाना कटायो…

गायिका बन्ने रहरले जब केटीहरुलाई सिमाना कटायो…

गायिका बन्ने भन्दै नयाँ दिल्लीतर्फ हिँडेका सात जना नेपाली बालिका तथा किशोरीहरू हिजो राती बिहारको सीतामढीबाट फर्काइएका छन् ।

मंगलबार दिउँसो घाँस काट्न भनेर हिँडेका तर एकाध घण्टामै ५० किलोमिटर परको भारतीय शहर सीतामढी नजिकै पुगेका ती सबैलाई हिजो राती नेपाल ल्याइएको हो ।

“खल्तिमा जम्मा १ हजार ५ सय भारतीय रुपैयाँ बोकेकी अस्मितासँग अरु ६ जना खालि हात थिए । लत्ता कपडा केही नबोकेका उनीहरूले त्यतैबाट दिल्ली जान लागेको बताए । “

उनीहरू भिट्टामोढ सीमा नाकाको वरपरबाट लुकिछिपी भारत छिरेका थिए । सीतामढी पुगेर दिल्ली जान भन्दै रेल चढ्न खोज्दा भारतीय रेल्वे प्रहरीलाई शंका लागेर सोधपुुछ गरेपछि किशोरी र बालिकाहरू हराउनबाट जोगिएका थिए । त्यसपछि भारतीय प्रहरीले सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खबर गरेको थियो ।

खबर लगत्तै हिजो बिहान महोत्तरीको जलेश्वर भन्सार पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका इन्सपेक्टर बिर्खबहादुर शाहीको टोली नेपाल प्रहरीका एकजना सईलाई साथमा लिएर सबेरै पारी गएको थियो ।

टोली सीतामढी पुगेपछि भने रेल्वे प्रहरीले बालिका हस्तान्तरण गर्न अन्कनायो । त्यसपछि उसले बालिकाहरूलाई स्थानीय चाइल्ड वेलफेयर कम्युनिटीको जिम्मा लगायो ।

कम्युनिटीको नियमानुसार एक सातादेखि एक महिनासम्म राखेर आवश्यक अनुसन्धान र छानबिन गर्नुपर्ने भनिए तापनि सशस्त्र प्रहरी इन्सपेक्टरको टोलीले हिजो राती नै नेपाल फिर्ता ल्याउन सफल भएको हो ।

गायिका बन्ने रहरले सीतामढी पुगेका सातजना मध्ये एउटी किशोरी अस्मिता पासवानले गीत पनि गाउने गरेको बुझिएको छ । खल्तिमा जम्मा १ हजार ५ सय भारतीय रुपैयाँ बोकेकी अस्मितासँग अरु ६ जना खालि हात थिए । लत्ता कपडा केही नबोकेका उनीहरूले त्यतैबाट दिल्ली जान लागेको बताए ।

प्रहरीका अनुसार वास्तविकता अझै खुलेको छैन । तर,प्रहरीले गिरोहमाथि आशंका गरेको छ । टोलीमा रहेकी अस्मिता पासवानले आफूले गीत गाउने गरेकाले गायिका बन्न हिँडेको बताए पनि अरुले चाहिँ केही कुरा खोलेका छैनन् । हिजो राती महोत्तरी ल्याएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइएको छ ।

नेपाली सुरक्षा निकायको गाडीलाई भारतले प्रवेश नदिने भएकाले टोली सिभिल गाडीमा भारततर्फ गएको थियो । तर, फर्कंदा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीको गाडीबाट बालिकाहरूलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा सिभिलमा खटिएका नेपाल प्रहरीका इन्सपेक्टरले आफ्नो गाडीमा चढाउने प्रयत्न गरेका थिए । स्रोतका अनुसार उनले आफूले काम गरेको देखाउन त्यसो गरेका हुन् ।

बालिकाहरूलाई कुन गाडीमा राख्ने भन्ने क्रममा एकछिन सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीबीच धकेलाधकेल नै भएको बताइन्छ । तर पछि सशस्त्रले सीतामढीबाट सँगै फर्केका इन्सपेक्टरको साथमा बालिकाहरूलाई राति नै जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाएको थियो ।

टिप्पणीहरू