पाण्डे हुर्रा,बस्नेत जिल्ल !
नेपाल कम्युनिष्ट पार्टी एमालेका निलम्बित नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने जिल्लास्तरीय कार्यकर्ता भेला बिथोल्ने प्रयास असफल भएको छ । भेला बिथोल्न ओली समर्थक एमालेले कुनै कार्यक्रम नराखेको विज्ञप्ति निकालेर सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती बनाएको थियो ।
विज्ञप्तिले मात्रै भेला रोक्न पर्याप्त नहुने देखेपछि महेश बस्नेतको प्रमुख आतिथ्यमा उक्त दिन सोही समय पार्टी कार्यालयमा अर्को कार्यक्रम आयोजना गरिएको थियो । तर,बस्नेतको निर्धारित कार्यक्रम भने हुन सकेन । त्यसपछि कार्यक्रम भए झडप हुने हल्ला फैलाएर कार्यकर्ताहरुको उपस्थितिलाई घटाउने प्रयास गरिएको थियो । त्यसो गर्दा पनि एक हजार भन्दाबढी अगुवा कार्यकर्ताले कार्यक्रममा उपस्थिति जनाएको बताइन्छ ।
कतिपयलाई तटस्थ बसिदिन आग्रहसमेत गरिएको थियो । करिब छ सय जना अटाउने क्षमताको टाउन हल खचाखच हुनुका साथै त्यत्तिकै संख्यामा कार्यकर्ता बाहिर टेन्टमा बसेको देखिन्थ्यो ।
भेलामा पाण्डेले थर्ड जेनेरेसनको नीतिले पार्टी सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्दै उक्त नीतिले मात्र नेपाल सम्वृद्ध हुने दाबी गर्नुभएको थियो । पाण्डेले ‘नेपालीले विदेशमा गएर काम गर्ने होइन,नेपालमा विदेशीले आएर काम गर्ने अवस्था सिर्जना गर्ने वातावरण तयार गर्न पार्टी अघि सर्नुपर्ने’ राय व्यक्त गर्नुभयो ।
भेलाको ब्यानरमा ‘स्वेच्छाचारिता र अहंकारको बिरोध गरौं,पार्टी एकताको रक्षा गरौं, जबजका मूल्यमान्यताको रक्षा गरौं, समाजवादको दिशामा अघि बढौं’ भन्ने लेखिएको थियो ।
टिप्पणीहरू