मिलाइ मिलाइ मर्याकमुरुक
सिंहदरबारका भित्ता, भर्याङमा प्रधानमन्त्रीको म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने वाणी टाँसेर कर्मचारीले कसरी नीति, पद्धति कुल्ची माफियालाई पोस्छन् भन्ने पछिल्लो एउटा उदाहरण हो यो ।
रातारात क्राइटेरिया संशोधन गराएर सुरक्षण मुद्रण केन्द्रका हाकिम विकल पौडेलले सूचना प्रविधिसम्बन्धी झण्डै ७५ करोडको ठेक्का म्याक्स इन्टरनेशनलको पोल्टामा सुम्पिएका छन्, त्यो पनि सार्वजनिक खरिद ऐनको खिलाफमा । अहिले ठेक्का पाएको म्याक्सको सञ्चालकमा साहिना हुसेन, अकबर हुसेनहरू देखिए पनि पर्दापछाडिका लगानीकर्ताचाहिँ उनै ओम्नी ग्रुपका साहु तुलहरि सिंह हुन् । सिंहले सो ठेक्का हात पार्न सुरक्षण केन्द्रका हाकिमलाई सानेपाको १७ आना जग्गा दिएको चर्चा सञ्चार मन्त्रालयतिर व्याप्त छ ।
संसद् विघटन भएको मौका छोपेर २ फागुनमा झण्डै ८० करोडको टेण्डर नोटिस निकालिएकोमा म्याक्सले यो ठेक्का नपाउने भएपछि विकलहरूले क्राइटेरिया नै संशोधन गरेका थिए । जहाँ वार्षिक कारोबार ६० करोडबाट घटाएर ५५ करोड गरेको, पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यको प्रेस सिष्टम आपूर्ति गरेकोलाई २ करोड घटाएर ३८ करोड रुपैयाँमा झारिएको थियो ।
प्रतिस्पर्धामा ४ वटा कम्पनीले भाग लिएकोमा म्याक्सले भन्दा ६ करोड कममा बोलकबोल गर्ने इलिमिक इन्टरनेशनललाई यो ठेक्का दिइएन । गत बिहीबार सुरक्षण मुद्रण केन्द्रले आपूर्तिकर्ता कम्पनी छनोट भएर ठेक्का लगाउन लागिएको भन्दै दाबी विरोधको लागि सूचनासमेत निकालेको छ ।
विभागकै एक कर्मचारीका अनुसार म्याक्सलाई टेण्डर दिनकै लागि फागुन २ गते ठेक्का आह्वान भएकोमा केन्द्रले चैत ३ मा म्याद सकिनु एक हप्ताअघि फागुन २६ मा स्पेसिफिकेसन बदलेको थियो । यसअघि म्याक्स र ओम्नी मिलेर दूरसञ्चार प्राधिकरणअन्तर्गत साढे तीन अर्बको ठेक्का फुत्काइसकेका छन् । अहिले सोही कम्पनीले झण्डै ७५ करोड बढीको ठेक्का हात पारेको हो ।
विकलहरूको बदमासीका कारण सिंहदरबारभित्रका मन्त्रालयमा जडित इन्टरनेटसमेत नचलेर कर्मचारी आजित छन् । केन्द्रमा जडित उपकरण कम गुणस्तर र क्षमताकै हुँदा बेला बेला मन्त्रालयको वेबहरू ह्याक हुनेदेखि सरकारी सर्भर पटक–पटक डाउन हुँदा कर्मचारीदेखि सर्वसाधारणले हत्तु खेप्दै आएका छन् । अहिले खरिद प्रक्रिया अगाडि बढाइएको प्रेसले हुलाक टिकट, रक्सीको अन्तशुल्क स्टिकर, मार्कसिट मात्र छाप्नेछ ।
टिप्पणीहरू