जनआन्दोलन दिवस यसरी मनाइयो

जनआन्दोलन दिवस यसरी मनाइयो

३२ औँ जनआन्दोलन दिवसको अवसरमा देशभक्त जनगणतान्त्रिक मोर्चाले कार्यक्रम गरेको छ । मंगलबार काठमाडौँमा भएको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले सम्बोधन गरेका छन् ।

मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको अध्यक्षता भएको सो कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल,प्राध्यापक जगदिशचन्द्र भण्डारी,अखिल नेपाल महिला संघकी अध्यक्ष अम्बिका मुडभरी,अखिल नेपाल युवा लिगका अध्यक्ष इश्वर तिमिल्सिना, सीताराम तामाङ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा ‘वर्तमान प्रतिकृयावादी सरकार खारेज गरौ’, ‘संघीय जनगणतान्त्रिक सरकारको स्थापना गरौ’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौ’, ‘एमसीसी परियोजना तुरुन्त खारेज गर’, ‘भारतीय सेना कालापानी छोड’, ‘सबै देशभक्त नेपालीहरु एक हौं’, ‘भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मूर्दावाद’, ‘भ्रष्ट तथा छाडा संस्कृतिको अन्त्य गर’, ‘महिला हिंसा,बलात्कार बन्द गर’, ‘बढ्दो महंगी नियन्त्रण गर’, ‘नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’, ‘महान शहिदहरु लालसलाम’ जस्ता नारा लगाइएको थियो ।

३० वर्षे निर्दलीय पञ्चायती शासकलाई घुँडा टेकाएको दिनको सम्झनास्वरूप हरेक वर्ष चैत्र २४ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । २०४६ सालको जनआन्दोलन चैत्र २४ गते उत्कर्षमा पुग्दा तत्कालीन राजा वीरेन्द्रले दलहरुसंग सम्झौता गरेर बहुदल घोषणा गरेका थिए। नेपालको राजनीतिक परिवर्तनमा ४६ सालको आन्दोलनलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिने गरिन्छ ।

पछिल्ला वर्षहरुमा राजनीतिक दलहरुले चैत्र २४ लाई महत्व दिन छाडेको भनिएका बेला राष्ट्रिय राजनीतिको मूल धारभन्दा बाहिर रहेको जनगणतान्त्रिक मोर्चाले संघीय राजधानीमा कार्यक्रम गरेको हो ।

टिप्पणीहरू