लुम्बिनीमा पनि अक्सिजन अभाव,एक सय बढि संक्रमितको ज्यान जोखिममा
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालद्वारा धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा हाल १ सय ४ जना संक्रमितले उपचार गराइरहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभएको छ ।
गौतमका अनुसार छोटो समयलाई पुग्ने अक्सिजन मात्र मौज्दात छ । बेलैमा अक्सिजन नआएमा १ सय बढि संक्रमितको ज्यान जोखिममा पर्ने उहाँले बताउनुभयो ।
हाल अस्पतालमा १७ सिलिन्डर अक्सिजन रहेको बताउँदै उहाँले जानकारी दिनुभयो ‘आइसीयुमा १५,एचडीयुमा ३२,फिभर क्लिनिकमा ७ तथा इमरजेन्सीमा ५० जना बिरामीको उपचार भइरहेको छ ।’
अक्सिजनको लागि बुटवलले पनि नेपालगञ्जमै भर पर्नुपर्ने अवस्था छ । अक्सिजनको लागि पहल भएपनि अहिलेसम्म अन्यत्रबाट सहयोग नआएको बताइन्छ ।
प्रदेशमा केहि दिन यता राजनीतिक उथलपुथल भएकाले अस्पतालतर्फ कसैको ध्यान नगएको हुनसक्छ ।
टिप्पणीहरू