ओलीका प्रतिनिधि र माधव नेपालवीच वार्ता जारी

एमाले विवाद उत्कर्षमा पुगेर पार्टी बिभाजन र सरकार गिर्ने अवस्थाका वीच प्रधानमन्त्री ओलीका प्रतिनिधि र बरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ ।

सँसद भवनस्थित राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति नीरादेवी जैरूको कार्यकक्षमा पौने चार बजेदेखि वार्ता जारी रहेको छ ।

प्रधानमन्त्री ओलीको आधिकारिक प्रतिनिधिका रुपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेता सुभाषचन्द्र नेम्वाङ बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका हुन् ।

ओली सरकारले बिश्वासको मत लिनु २४ घण्टाअघि अनेक चरणमा दुई पक्षवीच वार्ता जारी छ । आज कुनै सहमति जुट्न नसके भोलि माधव खेमाले सँसदबाट राजीनामा दिएर नयाँ सरकार गठनको निम्ति मार्गप्रशस्त गर्ने अल्टिमेटम दिइसकिएको अवस्था छ ।

यसैबीच नेपाल पक्षका सांसदहरु सिंहदरवारस्थित संसद सचिवालयमा भेला हुन थालेका छन् । बिहानैदेखि आन्तरिक छलफलमा जुटेका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका हुन् ।

नेपाल पक्षले हिजै आफ्नो पक्षका २२ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू