अक्सिजन सिलिन्डर बटुल्दै कोभिड अस्पताललाई दिँदै

अक्सिजन सिलिन्डर बटुल्दै कोभिड अस्पताललाई दिँदै

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म संकलित २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिण्डर नेपाल प्रहरीले कोभिड अस्पताल तथा सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ ।

प्रहरीका अनुसार ९ सय वटा सिलिन्डर अस्पताललाई र १ हजार ८ सय ८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको हो । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर राख्ने अस्पताल, व्यक्ति, संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्याँस वेल्डिङ, पसल तथा गोदामहरूमा मौज्दात गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको बताइएको छ ।

महामारीको रुपमा फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारणले उत्पन्न विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्णरुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले सक्रियता बढाएको जनाएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको बताउँदै प्रहरीले जथाभावी स्टक गरी अक्सिजनलगायत कोभिड विरुद्धका अत्यावश्यक सामाग्रीहरू फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

महामारीको समयमा स्वास्थ्य सामग्री स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू