उपेन्द्र र महन्थ ओली सरकारमा नजाने,सकेसम्म आफ्नै सरकार बनाउने
जनता समाजवादी पार्टी (जसपा) तत्काल प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज आठ बुँदे सहमति गर्दै ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका हुन् ।
दुई अध्यक्षद्वारा भर्खरै जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख छ । साथै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमतिसमेत भएको बताइएको छ ।“पार्टी सरकारमा सहभागी हुने र नहुनेसम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको छ । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुनेछैन । सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने नीति र निर्णय यथावत छ ।
तर,राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ’, सहमति पत्रको चौथो बुँदामा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्तावमा सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय सहमतिकै आधारमा गरेको उल्लेख गर्दै त्यसैलाई लिएर गुट–उपगुट खडा गर्ने,अराजक क्रियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।
दुई नेताबीच भएको सहमतिमा पार्टीमा देखिएका गुटगत गतिविधि रोक्न पार्टीको विधान,विधि, प्रक्रिया र संगठनात्मक प्रक्रियाद्वारा हल खोजिने उल्लेख छ ।
सत्ता समीकरणका सन्दर्भमा अध्यक्षद्वय ठाकुर र यादवको अलग अलग धारणा थियो । अध्यक्ष यादव ओलीको बहिर्गमनको पक्षमा उभिँदा ठाकुर भने वैकल्पिक सरकार गठनमा सहभागी नहुने अडानमा थिए । विवाद बढ्दै जाँदा दुवै पक्ष अलग–अलग गतिविधि गरिरहेका बेला यादव र ठाकुरले पार्टी विभाजन रोक्न सहमति जुटाएका हुन् ।
दुवै अध्यक्ष समायोजन हुन बाँकी पार्टीका कमिटीहरुलाई यथाशीघ्र समायोजन गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी बनाउन पनि सहमत भएका छन् ।
टिप्पणीहरू