अक्सिजन प्लान्टको क्षमता बढाउन खोज्दा खोला पुरियो

अक्सिजन प्लान्टको क्षमता बढाउन खोज्दा खोला पुरियो

सीता अक्सिजन प्रा.लि ले अक्सिजन प्लान्टको क्षमताबृद्धि गर्न नयाँ प्लान्ट निर्माण र स्थापना क्रममा स्थानीय खहरे खोला पुरिएको छ ।

दक्षिणकाली नगरपालिका–१, चाल्नाखेलस्थित खहरेमा रहेको कम्पनीले नयाँ प्लान्ट निर्माणको लागि फाउन्डेसन (जग) को काम अन्तिम अवस्थामा पुर्याएको छ । अक्सिजनको नयाँ प्लान्ट मेशिन बोकेको ट्रक कम्पनीको जग्गासम्म पुर्याउने क्रममा खनिएको बाटोका कारण खहरे खोला पुुरिएको हो ।

बाटो सम्याउने क्रममा खहरे खोलाको किनारा हुँदै केही निजी जग्गामा समेत डोजरले खनेपछि स्थानीयले अवरोध पुर्याएका छन् । अहिले अक्सिजन कम्पनीमा जाने बाटो नै अवरुद्ध भएको बताइएको छ । कम्पनीले स्थानीय जग्गाधनीहरूसँग छलफल गरेर मात्र बाटो निर्माणको प्रक्रिया अघि बढाउने भन्दै हाललाई उक्त कार्य स्थगित गरेको छ ।

विवाद बढ्दै गएपछि स्थानीयले आफूहरूलाई एक वर्षको क्षतिपूर्ति दिनुपर्ने, ढल र खहरे सफा गरिदिनुपर्ने लगायतका माग राखेका छन् । सीता अक्सिजनमा गएर टुंगिएको उक्त बाटोलाई स्थानीयले आफ्नो जग्गा नदिने भन्दै अडान लिएका छन् ।

कम्पनीका प्रवन्धक प्रल्हाद तिमल्सेनाले भने स्थानीयलेसमेत बिरामीका लागि अक्सिजन भर्दै आएकाले आफूहरूले अन्य कम्पनीको सिलिण्डर नभर्ने बताएका छन् । उनले वडा कार्यालयको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउने बताएपछि स्थानीयहरू कम्पनीसँग रुष्ट भएको बताइन्छ ।

यसैबीच अहिले समस्या समाधानको निम्ति दक्षिणकाली नगरपालिकाका उपमेयर वसन्ती डङ्गोल तामाङ,वडा नं.१ का अध्यक्ष,स्थानीय जग्गाधनी र सीता अक्सिजनका प्रतिनिधिबीच छलफलको तयारी गरिएको बुझिएको छ ।

टिप्पणीहरू