हेटौंडामा आजको साँझ ‘गुल्जार’,भोलि बादलको अग्निपरीक्षा

हेटौंडामा आजको साँझ ‘गुल्जार’,भोलि बादलको अग्निपरीक्षा

भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि निषेधाज्ञा र कोरोना महामारीबीच पनि हेटौंडामा रौनक छाउन थालेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विशेष निम्तो भन्दै एमाले प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौलाले एमालेका मतदातालाई फोन,म्यासेजबाट आजै साँझसम्म हेटौंडा आइपुग्न खबर गरेको बताइन्छ ।

निरौलाले बुधबार साँझको खानपिन र बसाई तथा बिहीबार बिहानको नास्ता र दिउँसोको खानाको राम्रो व्यवस्थापन गरिएको सन्देशसहित सबैजसो मतदातालाई खबर गर्नुभएको हो ।

“मुख्यमन्त्रीज्यूले आजै सबै जनालाई हेटौंडा आएर एभोकाडो होटलको रिसेप्सनबाट रुमको चाबी बुझ्न भन्नुभएको छ । खाने तथा बस्ने व्यवस्थाको लागि कुनै चिन्ता छैन । सबै प्रबन्ध मिलाइएको छ ।’

निरौलाको निम्तो जस्ताको तस्तै सुनाउँदै एकजना प्रदेश सभा सदस्यले भन्नुभयो ‘मुख्यमन्त्रीज्यूले आजै सबै जनालाई हेटौंडा आएर एभोकाडो होटलको रिसेप्सनबाट रुमको चाबी बुझ्न भन्नुभएको छ । खाने तथा बस्ने व्यवस्थाको लागि कुनै चिन्ता छैन । सबै प्रबन्ध मिलाइएको छ ।’

भोलिको चुनावमा गाउँ र नगरपालिका प्रमुख/उपप्रमुखभन्दा सभासदको भाउ ज्यादा छ किनभने मतभार उहाँहरुको धेरै हुन्छ यसर्थ खातिर पनि त्यतैको बढी हुनु स्वभाविकै भयो ।

यहि मेसोमा प्रदेश सभासद् तथा एमाले नेता राजेन्द्र पाण्डेलाई जनआस्थाले सोधेको थियो ‘के साँच्चै मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतकले खानपिनसहितको निम्तो गर्नुभएको हो ?’ पाण्डेले ‘हो’ भन्नुभयो ।

निरौलाले आफूलाई दिउँसै खाने,बस्ने व्यवस्था मिलाइएको छ भनेर खबर गरेको बताउँदै पाण्डेले भन्नुभयो,‘मैले चाँहि यस्तो सरकारी व्यवस्थापनमा कहिल्यै खाने गरेको छैन । आफ्नो खाने र बस्ने ठाउँको व्यवस्थापन आफैँ गर्नसक्ने अवस्थामा छु । बरु अलि गाह्रो अवस्थाका साथीहरूलाई खोजेर गर्नुहोला भनेको छु ।’

भोलिको गोप्य मतदानका निम्ति काँग्रेस, माओवादी,जसपा,जनमोर्चा र एमालेको नेपाल-खनाल समूहबाट डा.खिमलाल देवकोटा उम्मेदवार हुनुहुन्छ भने प्रधानमन्त्रीको तर्फबाट रामबहादुर थापा बादल उठ्नुभएको छ । नेमकिपाले पनि आफ्नो उम्मेदवार उठाएको छ ।

सबैले आफ्नै मतदाता सुरक्षित रहेको बताइरहँदा बागमतीमा राप्रपाको एउटा पालिकाबाट अध्यक्ष र उपाध्यक्ष पनि मतदाता छन् । उनीहरुको १८ अंकको मतभारको आधारमा ३६ हुन्छ । दुई जना प्रदेश सभा सदस्य रहेको राप्रपाको ४८ अंकको दरले ९६ मतभार हुनेछ ।

टिप्पणीहरू