रक्तपातबिहीन अर्को कोतपर्व घटेको त्यो कालो रात
-दिनेश रायमाझी
राजनीतिमा दाउपेच हुन्छन्,गरिन्छन् र यसलाई जायजै पनि मानिन्छ । राजनीतिको कुनै धर्म हुन्न न त कुनै नियम कानुन नै हुन्छ यसरी गर्ने भनेर। राजनीति जसरी गरेपनि हुन्छ हुनलाई ।तर लोकतन्त्रलाई आत्मसात गरेको जो कोहीले पनि सामान्यतया मनलाग्दो राजनीति गर्दैनन्,नियम नभए पनि । राजनीति नैतिकताले, राजनीतिक संस्कारले,विधि र पध्दतिले,नजिरले,इमानदारिताले चल्ने विषय हो ।
राजनीतिमा षड्यन्त्र हुनुहुन्न र षड्यन्त्रले इतिहासमा बैधानिकता पाएको पनि कतै छैन,देखिन्न । यदि यस्तो हुँदो हो त १९०३ को कोतपर्व नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको हुनेथियो । बरु यो त नेपाली राजनीतिमा सत्ता हत्याउने खेलको डरलाग्दो उदाहरणको रुपमा अङ्कित छ ।
षड्यन्त्रले इतिहासमा बैधानिकता पाएको पनि कतै छैन,देखिन्न । यदि यस्तो हुँदो हो त १९०३ को कोतपर्व नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको हुनेथियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद बिघटनलाई यस्तै ब्यक्तिहत्या बिनाको कोतपर्व भनिरहेका छन् धेरैले । यसतर्फ कत्तिको ध्यान पुगेको छ कुन्नि ? म यो प्रश्न यस अर्थमा गरिरहेको छु कि के एमाले अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओली इतिहासमा नकारात्मक पात्र-प्रबृत्तिको नेताकोरुपमा अङ्कित हुन चाहनु हुन्छ,हो ?
नेकपा (नेकपा) नेपाली कम्युनिस्ट आन्दोलनको एउटा “धौलेघर” बन्दै थियो,गीतमा भनिने बाबाज्यूको तीनतले धौलेघर र प्रधानमन्त्रीलाई त्यो धौलेघरको हजुरबुबा भएर रहने असाध्यै ठूलो, जसलाई ऐतिहासिक भन्न सकिन्छ,अवसर थियोे । यस्तो अवसर इतिहासमा न त कसैलाई आएको थियो पहिले कहिँकतै र न भविष्यमा नै आउनेवाला छ कसैलाई । यस्तो स्वर्ण अवसरलाई सम्हालेर राख्न सकेको भए,यसको सदुपयोग गर्न सकेको भए देशमा समाजवादको बलियो जग बसाल्न संभव थियो आफैले भने जस्तै ।
सँविधानको धारा ७५ (२) देखि ऐ को (५) प्रावधान सामान्य छ घरको भर्याङ्ग चढेजस्तो ट्याक ट्याक ट्याक । तर चकचके छोरोले उट्पट्याङ्ग गरी उफ्रिदै एकैपटक दुई वटा सिंढी फड्को मारेर माथि गएजस्तो
आफ्नै सपना भनौं कि लक्ष्य भनौं “सुखी नेपाली , समृद्ध नेपाल” ले पनि मूर्तरुप लिने थियो । तर कस्तो भयो भने उहाँले आफ्नै घरका मान्छेसंग निहुँ खोजेर,तिनलाई खान नदिई भोकभोकै पारेर आफ्नै घरमा बस्न नसक्ने बनाएर लखेट्नु भयो । परिणाम सामुन्ने छ – नेकपा (नेकपा) ध्वस्त भयो ,एमाले दन्दन्ति दन्किरहेको छ ।
दुई तिहाइको सरकार ध्वस्त भयो,दुई दलको बहुमतीय सरकार ध्वस्त भयो,अल्पमतको सरकार ध्वस्त भयो र अदालतले पुनस्थापना गरिदिएको संसद पनि ध्वस्त भयो । अर्थात हेर्दाहेर्दै तीनतले धौलेघर आँखैअगाडि स्वाहा भयो र हजुरबुबा बनेर बस्नपर्ने मान्छे अब जोगी बनेर फेरि अर्को धौलेघर बनाउँछु भनी मतपेटिका अघि सार्दै,भोटको भीक्षा माग्दै हिंडिरहनु भएको छ । यसलाई के भन्ने होला दुर्दशा,दुर्दान्त वा कन्तबिजोग?
धारा ७५, उपधारा (५) को प्रावधान नै ब्यक्ति सांसदले ब्यक्ति सांसदलाई तिमी प्रधानमन्त्रीको उम्मेदवार बन्छौ भने मेरो समर्थन छ है भनेर हस्ताक्षर गरी दिने हो ।
कुरा बुझ्न रकेट साइन्स बुझ्नु पर्दैन । सँविधानको धारा ७५ (२) देखि ऐ को (५) प्रावधान सामान्य छ घरको भर्याङ्ग चढेजस्तो ट्याक ट्याक ट्याक । तर चकचके छोरोले उट्पट्याङ्ग गरी उफ्रिदै एकैपटक दुई वटा सिंढी फड्को मारेर माथि गएजस्तो सँविधानको उपधाराको फड्को मारिरहनु भएको छ र राष्ट्रपतिले त्यसलाई हौसला प्रदान गरिरहनु भएको छ । लोकतन्त्रमा यस्तो गर्नुलाई अनैतिक मानिन्छ ।
‘यस मामिलामा महन्त ठाकुर र राजेन्द्र महतो किन सामेल छन् ?’
धारा ७५, उपधारा (५) को प्रावधान नै ब्यक्ति सांसदले ब्यक्ति सांसदलाई तिमी प्रधानमन्त्रीको उम्मेदवार बन्छौ भने मेरो समर्थन छ है भनेर हस्ताक्षर गरी दिने हो । र यसको प्रामाणिकता संसदभित्र खोजी गर्ने हो । तर अनेक हथकण्डा, जालसाजी र षड्यन्त्रको सहारा लिएर संविधानका उपधाराहरुको फड्को हान्दै पदमुक्त नभएको , बहालवाला प्रधानमन्त्रीलाई नै उपधारा पाँचको उम्मेदवार बन्न छुट दिएर,सांसदहरुको हस्ताक्षरको प्रामाणिकताको परिक्षण नै नगरिकन,सांसदहरुको समर्थन रहेको पत्रसहित प्रधानमन्त्री बन्न सक्छु भन्ने सांसदलाई आफूले दावी पेश गरेको कुरालाई प्रमाणित गर्ने अवसर नै प्रदान नगरिकन केवल अनुमानको भर परेर जसरी संसद बिघटन र नयाँ संसदको चुनाव घोषणा गर्ने काम भयो,यसमा नै खोट छ,बदनियत छ र षड्यन्त्र लुकेको छ ।
पाकिस्तानी राष्ट्रपति गिलानीलाई जस्तै बेञ्चको अलिपर छेउको कुर्सीमा राखेर हाम्रो राष्ट्रपतिलाई पनि केरकारी गर्यो बेञ्चले भने राष्ट्रपतिको गरिमा कहाँ पुग्ला ?
यस मामिलामा महन्त ठाकुर र राजेन्द्र महतो किन सामेल छन् ? यो पनि बुझिनसक्नु छ । ओलीटिक्सको जुवालाई यी दुईले किन काँध हालेर हिँडेका छन् वा हिँड्न बाध्य भएका छन् ? इतिहासमा कहिल्यै मधेसको कुरा नगर्ने महन्त ठाकुर अहिले एकाएक मधेसीको मसिहा बन्ने नाटक किन गरिरहेका छन् र मधेसीको एकतालाई माखेसाङ्लो भनेर होच्याउने प्रधानमन्त्री ओलीलाई मधेसी मुक्तिदाता मान्न किन इजार कसेर लागि रहेका छन् ? जे होस् , प्रथम दृष्टिमै कानुनी र सँबैधानिक हिसाबले गलत देखिने र यहि दुईवटा कुरालाई आधार मानेर अदालतमा च्यालेञ्ज हुनसक्ने जान्दाजान्दै यो खेलमा लाग्ने यसका सबै खेलाडीहरुलाई यो खेल अत्यन्तै महङ्गो साबित हुने भने पक्का छ ।
ठाकुर र महतोको त के कुरा गर्नु र ?अघिल्लो पटकको संसद बिघटन असँवैधानिक हो भनेर सुप्रिम कोर्टले दिएको फैसलाको पूर्णपाठ नआउँदै पुन: संसद बिघटन गरियो भनेर कन्टेम्ट अफ कोर्टको अभियोगसहित यदि सर्वोच्च अदालतमा संसद बिघटनबिरुद्ध मुद्दा पर्यो र पाकिस्तानी राष्ट्रपति गिलानीलाई जस्तै बेञ्चको अलिपर छेउको कुर्सीमा राखेर हाम्रो राष्ट्रपतिलाई पनि केरकारी गर्यो बेञ्चले भने राष्ट्रपतिको गरिमा कहाँ पुग्ला ? र,त्यसको जिम्मेवारी कसले लिने? गम्भीर भएर सोच्दा राम्रो हुन्छ।
देश भनेको केवल भूगोल होइन । यदि भूगोल नै देश हुन्थ्यो भने मान्छेले मरुभूमिमा शासन गर्थ्यो होला ।
देशमा कोरोनाको दोस्रो लहरले तवाही नै मच्चाइ रहेको छ।संक्रमितहरुले अस्पतालका कोठा मात्रै होइन बरण्डाहरु समेत भरिएका छन् । पर्याप्त मात्रामा अक्सिजन छैन,सिलिन्डर छैन, भेन्टिलेटर छैन,आइसियु छैन, ओैषधि छैन ,भ्याक्सिन छैन । देश भनेको नदीनाला,हिमाल र नक्सा होइन अर्थात देश भनेको केवल भूगोल होइन । यदि भूगोल नै देश हुन्थ्यो भने मान्छेले मरुभूमिमा शासन गर्थ्यो होला ।
देश भनेको राजनीतिक सिमानाभित्र बसोबास गर्ने सम्पूर्ण देशवासी हुन् । देशका देशवासी नै रहेनन् भने कहाँ शासन गर्ने ? छिमेकी मुलुकमा पनि कोरोनाको दोस्रो लहरले भयावह अवस्था निम्त्याएको छ।तर त्यो भयावह निम्त्याएको आरोप त्यहाँका प्रधानमन्त्रीलाई लागेको छ । उनले ठुल्ठूला चुनावी र्यालीहरुको आयोजनामा रोक लगाएको भए ,लाखौं जम्मा हुने कुम्भमेलाको आयोजनमा रोक लगाएको भए र बैज्ञानिक , भाइरोलोजिष्ट,बिशेषज्ञहरुको रायसुझावलाई मानेर अक्सिजन , खोपको राम्रो प्रवन्ध गरेको भए ती मृत्युुवरण गर्नेहरुले थप तीस चालिस बर्ष बाँच्ने थिए भनेर त्यहाँका मानिसहरु गुनासो गर्छन् । ठीक त्यस्तै हालत हाम्रो पनि हो ।
खाकखाक र खुकखुक,बेलौतिको पात र दियोतिर नलागी,मान्छेको प्रतिरोधात्मक क्षमताले नभएर अक्सिजनले,भ्याक्सिनले, ओैषधिले,भेन्टिलेटरले,आइसियु युक्त बेडले मात्रै कोरोनाबिरुद्ध लड्न सकिन्छ,कोरोनालाई जित्न सकिन्छ भनेर मान्देको भए धेरै नेपाली जनताको ज्यान जोगिने थियोे । साथै मैले यस्तो होला भनेर सोँचेकै थिइन भनी टिभीसामु आएर मुख नछोपी बोल्नुपर्ने दरकार पर्थेन । तर यो भनेको पनि खासमा प्रधानमन्त्रीले आफ्नो गुमिरहेको छवि सुधार्ने नियतले हो, जनताप्रतिको उत्तरदायित्वबोधले भनेको भने किमार्थ होइन । यो कोरोनाको महामारी भोलिका दिनमा कम भइहाल्छ भन्ने अनुमान गरेकै भरमा देशलाई चुनावतिर लैजाने जुन प्रयत्न भइरहेको छ यसले भारतको भन्दा धेरै दुखद र दर्दनाक अवस्था यहाँ फेरि पनि दोहोरिने छ । देश भनेको सम्पूर्ण जनताको समष्टिगत रुप हो । ती सम्पूर्ण जनतालाई डबल डोज भ्याक्सिन लगाएर नसकेसम्म यो महामारी हराउने सम्भावना कम छ भनेर बैज्ञानिक ,बिशेषज्ञहरु भनिरहेका छन् । यिनीहरुको यो भनाइलाई नजरअन्दाज गरेर यदि देशलाई अनावश्यक रहेेको चुुुुनावमा होमियो र त्यसले महामारी थप फैैलिन गई जनताको ज्यान जाने स्थिति आयो भने त्यतिबेेेला ओली पनि रोलान् टिभीसामु मोदीजस्तै तर त्यो बेला रोएर काम चल्ने छैन। त्यो कुराको नेपाली जनताले मात्रै नभएर बिश्व समुदायले पनि किन यस्तो भयो भनेर जवाफ माग्ने छ र जवाफ नदिई बस्न पाइने छैन।मनन गर्नुस्, देशलाई अहिले चुनाव होइन कि खोपको जरुरत छ।
के कुरा सत्य हो भने प्रधानमन्त्री र उहाँको कोटरीका पनि खास सदस्यले बाहेक अरु धेरैले देशलाई चुनावमा लैजान भनेर गरिएको संसदको बिघटनलाई असंवैधानिक ,अराजनीतिक र पावर हङ्ग्रीको पराकाष्ठा हो भनेर भनिरहेका छन् । डरले सार्वजनिक रुपमा बोल्न नसकेका मात्रै हुन्।अझै पनि समय छ,गल्ती स्वीकार गरेर सानो भइन्न ।गल्ती स्वीकार गर्ने हो भने इतिहासले अहिले लिन खोजेको कोर्ष नै करेक्शन हुनसक्ने अवस्था छ र रक्तपातरहित कोतपर्वको रचयिता भनेर इतिहासमा कसैको पनि नाम लेखिने छैन । कमरेड केपी ओलीलाई कुनै प्रकारको आत्मालोचना नगरिकनै यस्तो गल्ती स्वीकार गर्ने छुट रहेको छ।मेरो त सुझाव छ,माधव नेपाल , प्रचण्ड सबैलाई बोलाउनुस् र नयाँ मार्गचित्र मिलेर बनाउनुस् । तपाईंले भीक्षा मागेर बनाउन चाहेको नबन्ने धौलेघर यसो गरेको खण्डमा बन्ने छ र फेरि पनि तपाईं नै त्यो घरको मुली अर्थात हजुरबुबा बन्नुहुने छ। अरु त हामीले हत्तेरीका भन्दा के भन्न सक्छौं र !!
टिप्पणीहरू