प्रधानमन्त्रीपछि मन्त्रीको प्रवचन

प्रधानमन्त्रीपछि मन्त्रीको प्रवचन

विश्वविद्यालयको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको प्रशंसामा चर्को राजनीतिक भाषण गरेर चर्चामा आउनुभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नागरिकतासम्बन्धी पुरानो धारणा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले साझा गरेका छन् ।

अस्ति जारी भएको नागरिकतासम्बन्धी अध्यादेश र नागरिकताबारे प्रधानमन्त्रीसहित एमाले नेताहरुको पुरानो धारणा तुलना गर्दै सामाजिक सञ्जालमा भिडियोहरु बग्रेल्ती सार्वजनिक भैरहेका छन् ।

एमालेको अडानकै कारण लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किरहेका बेला सरकारले हठात् अध्यादेश ल्याएको थियो । धर्मराएको ओली सरकार अड्याउन टेको दिएको जसपाको महन्थ ठाकुर खेमालाई खुशी बनाउन जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता दिने गरी नागरिकतासम्बन्धी अध्यादेश ल्याइएको हो । महन्थ खेमाले अध्यादेशको स्वागत गर्दै मधेसका कतिपय ठाउँमा दिपावली गरिरहेको छ ।

अध्यादेशको चौतर्फी विरोध भैरहेका बेला शिक्षामन्त्री श्रेष्ठले प्रवचनको शैलीमा संसदीय समितिमा बोल्दै नागरिकताको विषयलाई हल्का नबनाउन चेतावनी दिएको भिडियो सञ्जालमा छाएको छ । नागरिकता पाउने विश्वव्यापी मान्यताको दृष्टान्त दिँदै उहाँले भन्नुभएको छ,’नागरिकता बसको टिकट काटेजस्तो होइन ।’

अहिले प्रधानमन्त्री ओलीले केही ‘बुहारी’लाई आफ्नो मन्त्रिपरिषदमा समेट्ने चर्चा चलिरहेका बेला उहाँले अंगिकृत नागरिकता दिने प्रावधान कसिलो बनाउनु पर्ने आशयको अभिव्यक्ति दिनुभएको छ । नेपालका मधेसीसँग बिहा गर्ने भारतीय चेलीहरुले बिहा गर्ने बित्तिक्कै नागरिकता पाउने गरेकोमा चर्को रोष प्रकट गर्दै उहाँले एउटा हातले सिन्दुर अर्को हातले नागरिकता दिने प्रावधान घातक हुने बताउनुभएको छ ।

जारी अध्यादेशले लाखौं भारतीय नागरिकलाई नागरिकता लिने बाटो खुला गरेको चर्चा भैरहेका बेला त्यतिबेला श्रेष्ठले भनेको एउटा कुरा स्मरणीय छ । उहाँले राष्ट्र रहने र नरहने कुराको निर्क्योल नागरिकता वितरणको व्यवस्थाले निधो गर्ने दाबी गर्नुभएको छ ।

नागरिकतासम्बन्धी प्रधानमन्त्री ओलीको पनि त्यस्तै पुरानो अभिव्यक्ति अहिले चर्चामा छ । ओलीले रानीको जन्मदिनमा केटाकेटीलाई स्कुलमा भेला गरेर चकलेट बाँडिएको जस्तो गरी बोर्डरमा बसेर सबैलाई नागरिकता दिनु गलत हुने भन्दै चर्को विरोध गर्नुभएको थियो । वैवाहिक अंगिकृतलाई भारतमा सात वर्षपछि मात्र नागरिकता दिने गरिएको तर नेपालमा तत्काल दिने व्यवस्था रहेको भन्दै उहाँले त्यस्तो धारणा राख्नुभएको हो ।

मधेसवादी दललाई लक्षित गर्दै उहाँले भन्नुभएको छ,’मधेसी मोर्चाले उताबाट ल्याएका बुहारीहरुले बिहे गरेर ल्याएको भोलिपल्ट मन्त्री बनाउन पाउनुपर्छ भनेर मसाल बालेको छ । १२/१३ जना बुहारीहरु त साँसद नै हुनुहुन्छ केरे,एउटी बुहारी मन्त्री हुनुहुन्छ । ज्वाइँ हरुको त कुरै नगरौँ । त्यसकारण यस्तो माग ठीक छैन,स्वीकार्न सकिंदैन ।’

तर,प्रधानमन्त्री ओलीकै सिफारिसमा जारी अध्यादेशमा भने ३ असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने पनि अध्यादेशमा उल्लेख छ ।

यो व्यवस्थाले उतिबेला प्रधानमन्त्री ओलीले भनेजस्तै नाकामा बसेर नागरिकता बाँड्न खोजेको हो कि भन्ने आममानिसमा चिन्ता उत्पन्न गराएको छ ।

अध्यादेशले विदेशी नागरिकका सन्तानलाई पनि बंशजको आधारमा नागरिकता दिने बाटो खुलाएको छ भने लाखौं भारतीयले अब नागरिकता लिन सक्ने खतरा बढेको बताइन्छ ।

टिप्पणीहरू