कोरोनालेभन्दा अरु रोगबाट गुमनाम मर्नेको संख्या झन डरलाग्दो

कोरोनालेभन्दा अरु रोगबाट गुमनाम मर्नेको संख्या झन डरलाग्दो

लामो समयको निषेधाज्ञा र महामारीको प्रकोपका कारण अन्य दीर्घरोगीहरुको बारेमा कसैले पनि ध्यान नपुर्याउँदा अरु धेरैले अकालमा ज्यान गुमाउनु परेको एक जना वरिष्ठ चिकित्सकले बताएका छन् । सबैतिर कोरोनाको चर्चा हुँदा अन्य रोगीहरु घरमै खुम्चिन र मर्न बाध्य भइरहेका खबर प्राप्त हुन थालेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्,‘अहिलेको अवस्थामा दीर्घरोगका बिरामीहरु अस्पताल आउनै नसक्ने देखिन्छ । एकातिर यातायातको असुविधा छ भने सबैतिर कोरोना बिरामी भएकाले उनीहरु अस्पताल आउनै नचाहने अवस्था देखिएको छ । कोभिड वार्ड छ,उनीहरु बिते पनि बिशेष विधिबाट पोको पारेर पशुपति या घाट लगिन्छ,सो को रेकर्ड पनि राखिन्छ जबकि अन्य ब्यथाले घरैमा बितेकाको अचेल कुनै हिसाब छैन ।’

फोनबाट सम्पर्क गर्दै सुझाव मागिरहेका आफ्ना नियमित बिरामीहरुको अवस्थाबारे विश्लेषणसहित उनी भन्छन्, ‘गंगालाल अस्पतालमा समेत मुटुभन्दा कोभिडका बिरामी बढी छन् । अस्पतालका अधिकांश डाक्टर र नर्स कोभिड बिरामीको उपचारमा खटिएका छन् । यो अवस्थामा अरु दीर्घरोगका बिरामीले उपचार पाउने व्यवस्था देखिँदैन । त्यसैले उनीहरु कुन अवस्थामा होलान् सहजै अनुमान लगाउन सकिन्छ ।’

हुन पनि यसबीच कोरोनाबाट निधन हुनेको आँकडा धेरै देखिए पनि अरु रोगबाट कति मरे र कहाँ मरे भन्ने आँकडा लगभग हराउन थालेको छ । हिजोसम्म नियमित परीक्षण र औषधीमूलो गरिरहेका बिरामीहरु महिनौंदेखि लुक्न बाध्य भएका छन् । दशौं हजार त्यस्ता बिरामी अहिले कुन अवस्थामा कहाँ छन् भनेर कसैले केही भन्न नसक्ने उनको धारणा छ ।

चिकित्सकहरुका अनुसार मुटु, कलेजो,फोक्सो र क्यान्सरका दीर्घरोगीलाई कोरोना संक्रमण हुँदा जोखिमको खतरा अधिक हुन्छ । नेपाली समाजमा पछिल्ला केही वर्षदेखि धेरै जनाको निधन हुने प्रमुख रोगमध्ये मुटु रोग एउटा हो । नेपालमा धेरै जनाको अकालमा ज्यान जाने प्रमुख तीन वटा रोगमध्ये मुटु रोग पनि हो ।

टिप्पणीहरू