दरबार हत्याकाण्डको छानबिन यसरी गरियो
-श्रीप्रसाद पण्डित
राजदरबार हत्याकाण्ड भएको आज ठीक २० वर्ष पुगेको छ । आजैका दिन ०५८ जेठ १९ गते राती राजा वीरेन्द्रको वंशनाश भएको थियो । गध्दीमा आसिन राजाको वंश विनाश भएको सम्भवतः विश्व राजनीतिमा दुर्लभ घटना थियो त्यो, त्यो पनि राजदरबारभित्रै, राजपरिवारको सामूहिक भेटघाट हुने ‘गुड फ्राइडे’ को साँझ पारेर ।
उक्त घटनाको क्रममा उपस्थित भनिएका साक्षीहरु केहीको निधन भइसकेको छ । त्यतिबेला राज्यको विभिन्न ओहोदामा रहेकाहरु कोही निकै बृधद,कोहीको देहान्त र कसैको देशबाट पलायन र पेशा परिवर्तनसमेत भइसकेको छ ।
आज हामीले हत्याकाण्डपछि गठित छानबिन आयोगलाई सहयोग पुर्याउने काममा संलग्न तीन सदस्यीय टोलीका एकजना ब्यक्तित्व श्रीप्रसाद पण्डितसँग हिजो साँझ गरिएको कुराकानीमा आधारित सामाग्री पस्केका छौं ।
‘पुग्न त पुगियो । सबैजना रनभुल्लमा थिए । मैले यसो कानेखुशी गरेर हातमा ब्याण्डेज लगाएका राजा त्रिभुवनका ज्वाईं कुमार महेश्वर सिंहलाई सोधेँ–के भयो ? उनले भने– मलाई पनि छर्रा लाग्यो ।’
छानबिन आयोगको संयोजकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय हुनुहुन्थ्यो भने सदस्यमा सभामुख तारानाथ रानाभाट । तत्कालीन विपक्षी दलका नेता तथा एमाले महासचिव माधवकुमार नेपालले भने भोलिपल्टै आयोगमा बस्न असमर्थता जनाउनुभयो । प्रधानन्यायाधीशको संयोजकत्वमा गठित टोलीलाई सहयोग पुर्याउन सर्वोच्चका रजिस्ट्रार पण्डितसँगै संसद सचिवालयका महासचिव सूर्यकिरण गुरुङ र काशिराज दाहाललाई राखिएको थियो ।
उक्त घटनालाई २० वर्षपछि कसरी ब्याख्या गर्नुहुन्छ भनेर सोधिएको जिज्ञासामा पण्डितले ‘आफ्नो पहिलेको सोचाई र बुझाईमा पूरै परिवर्तन आएको’ बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘त्यतिबेलाका प्रत्यक्षदर्शी,घटनाका घाइतेको भनाई सुन्दा तत्कालीन युवराजधिराज दीपेन्द्रले नै त्यो नरसंहार मच्चाएका हुन् भन्न बाध्य थिएँ । भित्री आत्माले र घटनास्थललगायतका अवस्थाले चाँहि मानिरहेको थिएन । तर,यो दुई दशकमा देखिएको राष्ट्रिय तथा क्षेत्रीय राजनीतिका अनौठा घटनाक्रम,अस्वाभाविक राजनीतिक परिवर्तन,अवस्था र राजनीतिक क्षेत्रबाट आइरहेका पारस्परिक बेमेलका प्रतिक्रियाले अब भने मेरो अन्तरमनले त्यसो होइन रहेछ भन्ने ठहर्याएको छ ।’
झण्डै आठ वर्ष राजदरबार सेवामा समेत कार्यरत पण्डित त्यसअघि मुगु जिल्ला अदालतको न्यायाधीश हुनुहुन्थ्यो । त्यहि राति कुनै एक जना मित्रले फोनमा दरबारभित्र अप्रिय घटना भएको टेलिफोनबाट सुनाएपछि भोलिपल्ट उहाँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेको बताउँदै भन्नुहुन्छ ‘पुग्न त पुगियो । सबैजना रनभुल्लमा थिए । मैले यसो कानेखुशी गरेर हातमा ब्याण्डेज लगाएका राजा त्रिभुवनका ज्वाईं कुमार महेश्वर सिंहलाई सोधेँ–के भयो ? उनले भने– मलाई पनि छर्रा लाग्यो ।’
गोलीको बारेमा खासै ज्ञान नभएकाले उनले छर्रा भनेपनि आफूले खासै नबुझेको उहाँको भनाई छ । ‘कस्तो खालको गोली रहेछ’ भन्नेमा नै मेरो दिमाग घुमिरह्यो । अनि पण्डितले उनै राजाको ज्वाईंलाई सोध्नुभयो ‘कसले गर्यो ?’ सिंहले पनि भनिहाले ‘उहाँले अर्थात् युवराज दीपेन्द्रले ।’
“बडामहारानी ऐश्वर्यको अनुहार गोलीले क्षतविक्षत भएको कारण मैनको अनुहार बनाएर ल्याउन केही समय लागेको रहेछ ।”
त्यसपछि एकातिर भेन्टिलेटरमा राखिएका युवराजलाई राजा घोषणासङ्गै दिवंगत राजा,रानी र राजपरिवारका अन्य सदस्यको दाहसंस्कारको तयारीमा राज्य लागेको देखियो । राजा र रानीको पार्थिव शरिर आर्यघाटतर्फ लैजाने भनिएको समय घर्किरहेको थियो । किन घर्कियो भनेर बुझ्दा पछि थाहा भयो बडामहारानी ऐश्वर्यको अनुहार गोलीले क्षतविक्षत भएको कारण मैनको अनुहार बनाएर ल्याउन केही समय लागेको रहेछ ।
त्यतिबेला सैनिक अस्पतालमा दिवंगत सबैको पोष्टमार्टम गर्ने सन्दर्भ पनि उठेको बताइन्छ । तर एकथरीले गर्नुपर्ने र अर्काथरीले गर्न हुँदैनको बीचमा गर्नुहुँदैन भन्ने मत बलियो भएपछि पोष्टमार्टम नगरी पार्थिव शरिरलाई आर्यघाट लगिएको थियो । त्यस्तो किन गरिएको होला भनेर राखिएको जिज्ञासामा पण्डितले भन्नुभयो ‘हामीले पनि सुनेका हौं । मुमाबडामहारानी रत्नबाट दरबारमा कहिल्यै पनि पोष्टमार्टमको चलन नभएकाले नगर्नु भनेपछि त्यसै गरिएको रे ।’
त्यहिँनेर अचम्मको भेद खोल्दै पण्डितले भन्नुभयो ‘दरबारमा चलन हुन्छ, त्यो सामान्य हो । तर, अरु सबै प्रचलन र चलन भनेपनि आमसंहार र गोली काण्डपछि पोष्टमार्टम नगर्ने भन्ने दरबारको कसरी चलनमा आयो होला ? त्यसो हो भने दरबारमा त्यस्तो वंश नाश हुने चलन नै पनि त थिएन नि !’
अरु जे जे भने पनि आमनागरिक त्यो भवितव्य र युवराज दीपेन्द्रबाट भएको घटना स्वीकार्ने पक्षमा नै थिएनन् । त्यसैले होला दिउँसो छाउनी अस्पतालबाट चलाइएको राजा र रानीको शवयात्रासँगै गाडीमा जाँदै गर्नुभएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लक्षित गरेर शोभा भगवती नजिकै ढुंगाप्रहार गरिएको थियो । त्यतिबेला प्रधानमन्त्री कोइरालाले गोली काण्ड भएकाले दिवंगत सबैको पोष्टमार्टम गर्नुपर्ने अडान लिनुपर्ने र जनतालाई आश्वस्त तुल्याउन रेडियो र टेलिभिजनबाट सम्बोधन गर्नुपर्नेमा त्यसो नहुनुलाई पण्डितले ‘विडम्बना’ भन्नुभएको छ ।
त्यसको केही दिनपछि बनेको छानबिन आयोगका संयोजक तथा प्रधानन्यायाधीश उपाध्यायले बालुवाटारस्थित सरकारी निवासमा बोलाएर आफूलाई आयोगलाई सहयोग गर्ने टिममा बसिदिन भन्नुभएको उहाँ बताउनुहुन्छ । कानुनी क्षेत्रको भएको,दरबारमा केही वर्ष काम गरेको कारण छानबिनमा सजिलो हुने ठानेर उहाँले आफूलाई त्यसो भनेको पण्डितको बुझाई छ ।
“तीन जनाले एक जनासँग लिन्थ्यौं । तर,आवाज रेकर्ड गर्ने कामचाँहि त्यो बेला गरिएन ।”
प्रधानन्यायाधीश र सभामुखसहितको टिमले सहयोग गर्न बनाएको तीनजनाको टोलीसहितको उपस्थितिमा छानबिनको मोडालिटी तयार गरिएको सम्झिँदै उहाँ भन्नुहुन्छ ‘छलफलबाट निश्कर्ष निकालौं, त्यसदिन घटनास्थलमा उपस्थित सबैको बयान लिऔं भन्ने भयो । बयान लिने क्रममा उहाँहरु दुई जना चुपचाप सुनिरहनुहुन्थ्यो भने हामी तीन जनाले तीनतिर बसेर तीन जनासँग बयान लिन्थ्यौं । कहिलेकाँही तीन जनाले एक जनासँग लिन्थ्यौं । तर,आवाज रेकर्ड गर्ने कामचाँहि त्यो बेला गरिएन ।’
त्यतिबेला अरु सबैसँगको बयान लिने काम प्रधानन्यायाधीश र सभामुखको सामुन्ने गुरुङ,पण्डित र दाहालले लिए पनि राजपरिवारका सदस्यसँग भने प्रधानन्यायाधीश र सभामुखले मात्र लिनुभएको थियो । रानी कोमलसँग पनि उहाँहरु दुई जनाले मात्र लिनुभएको थियो ।
शुरुदेखि अन्तसम्म सबैजसोले ‘दीपेन्द्र सरकारले नै त्यसो गरेको भनेर बयान दिएका थिए ।’ अहिले धेरैजसो बितेर पनि गइसके । राजा वीरेन्द्रका छोरी ज्वाईं गोरख समशेर अहिले पनि छन् । उनी त्यतिबेला उपचारमा थिए । उनलाई छातिमा लागेको गोली सुनको लकेटले छेकेका कारण ज्यान जोगिएको उहाँको बुझाई छ ।
सबैले दीपेन्द्रलाई दोषी ठहर्याए पनि पण्डितको मनले मानिरहेको थिएन । तर उहाँ एउटा विशिष्ट श्रेणीको कारिन्दा भएर कार्य गरिरहेको अवस्थामा त्यो मान्नुको विकल्प पनि थिएन । आयोगमा रहेका अरुले भन्दा दीपेन्द्रलाई १५ वर्षअघि नै नजिकबाट चिन्नेमा उहाँबाहेक अरु कोही पनि थिएनन् । तर बयान दिने सबैले एकोहोरो ‘दीपेन्द्र सरकार’ नै हो भनिरहेका थिए, त्यसैले मान्नु र खुरुखुरु त्यहि लेख्नुको कुनै विकल्प उहाँसँग थिएन पनि ।
युवराज दीपेन्द्र त्यतिबेला रक्सी र कालो पदार्थ खाएर लठ्ठ भएको भनिएको थियो । दरबारमा खाएको भनिएको त्यो विदेशी रक्सीको नाम फेमस ग्राउज थियो । बुझ्दै जाँदा त्यतिबेला महँगो रक्सीको बेचबिखन गर्ने पनि दरबारकै नातेदारहरु थिए । त्यो दिनको रक्सी उनै सिंहको व्यापारिक कम्पनीबाट ल्याइएको थियो । जो राजा त्रिभुवनका ज्वाईं कुमार महेश्वर सिंह थिए । घटनामा घाइते भएको उनी आफैँले यो कुरा २० गते छाउनी अस्पतालमा पण्डितलाई बताएका थिए ।
सबैसँग बयान लिएपछि एक पटक पण्डित आफैँले रक्सी र कालो पदार्थ खाएर इन्तु न चिन्तुको अवस्थामा खोपीमा सुतेका भनिएका दीपेन्द्रले नै नरसंहार कसरी गरे ? त्यस्तो कुरोको लागि मनोचिकित्सक तथा स्नायु विशेषज्ञको सल्लाह लिन उपयुक्त हुने प्रधानन्यायाधीशलाई भन्नुभएको थियो । तर,शुरुमा नमाने पनि पछि उहाँले नै हुन्छ, उपयुक्त चिकित्सक खोज्नुहोस् भनेपछि आर्मी अस्पतालका डा.कृष्ण राजभण्डारीलाई बोलाएर त्यसबारे सोध्ने प्रबन्ध मिलाइएको थियो ।
पण्डित भन्नुहुन्छ ‘अन्तमा रिपोर्टको निचोड युवराज दीपेन्द्रले नै गोली हानेको भन्नेमा टुंगियो । त्यसलाई टेलिभिजनबाटै प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो । त्यो बेला म जत्तिको मान्छेले समेत मनले नमान्दा नमान्दै पनि हो भनिएकै थियो ।
तर अहिले २० वर्षमा त्यसपछिका राजनीतिक घटनाक्रम,अन्यत्रबाट समेत आउन थालेका प्रतिक्रिया,आफ्नै मुलुकको राजनीतिक उतारचढावले समेत त्यो योजनाबध्द थियो भन्न बाध्य हुँदै गएको छु ।’
‘जसले त्यो योजनाबद्ध घटना सम्पन्न गराए ती त सफल भए,तर आज मुलुक असफल हुँदै गएको’ उहाँको निश्कर्ष छ ।
टिप्पणीहरू