ईश्वरले कसलाई भनेको विदेशीको न्यानो काखमा सुतेर उत्पात मच्चाउने ?
दुई दिन पहिले सरकारबाट बाहिरिनुभएका एमाले महासचिव ईश्वर पोखरेलले डेढ महिनाअघि गरेको एउटा सार्वजनिक अभिव्यक्ति अहिले चर्चामा छ ।
दुई विपरित ध्रुवमा उभिएका एमाले र जसपाको महन्थ ठाकुर खेमाबीच सत्ता सहकार्य हुँदै दीर्घकालीन गठवन्धनको प्रयास भैरहेका बेला अप्रिल १६ मा पोखरेलले लेखेको एउटा ट्वीटले बाह्य शक्ति केन्द्रको चलखेलमा राष्ट्रिय राजनीति प्रभावित बनेको संकेत गरेको छ ।
उक्त ट्वीटमा पोखरेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विदेशी शक्तिको इशारामा उत्पात मचाउनेहरुले षड्यन्त्र गरेको दाबी गर्नुभएको छ । ‘कुनैबेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मच्याउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षड्यन्त्रमा लागेका छन्’,पोखरेलले लेख्नुभएको छ,’यस्ता काम घृणायोग्य र दण्डनीय छन् ।’
पोखरेलले विदेशीको न्यानो काखमा सुतेर कसले ओलीविरुद्ध षड्यन्त्र गरेको हो त्यो भने खुलाउनु भएको छैन । कतिपयले भने महन्थ खेमालाई झटारो हानेको हुनसक्ने अनुमान गरेका छन् ।
पोखरेलमाथि सत्ताका लागि मरिहत्ते गर्ने गरेको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री ओलीको सत्तारोहणसँगै पोखरेल रक्षामन्त्रीका रुपमा सिंहदरबार छिर्नुभएको थियो । पोखरेलभन्दा युवराज खतिवडा प्रधानमन्त्री ओलीको रोजाइमा परेपछि उपप्रधानसहित अर्थमन्त्री बन्ने उहाँको चाहाना अधुरै रहेको थियो ।
रोजेको मन्त्रालय नपाए पनि गुनासो नगरी सिहंदरबार प्रवेश गर्नुभएका पोखरेललाई पछि बिना विभागीयका रुपमा प्रधानमन्त्री कार्यालयमा थन्किनुपरेको थियो । एकपछि अर्को जिम्मेवारी खोसिंदा पनि सरकार नछाड्नुभएका पोखरेलले महन्थ खेमा सरकारमा आए मन्त्री गुमाउनुपर्ने देखेपछि त्यस्तो ट्वीट गरेको अनुमान गर्नेहरु पनि छन् ।
पोखरेलले अप्रिल १६ मै विदेशी चलखेल बढेको भन्नु र भारतीय दूतावास हुँदै बालुवाटारसम्मको दौडधुपपछि महन्थहरुलाई सिंहदरबारको ढोका खुल्नुबीच के कनेक्सन होला ?
टिप्पणीहरू