कुकुरबाट सिक्ने कि मान्छेले ?

कुकुरबाट सिक्ने कि मान्छेले ?

कुकुरलाई मानिसपछिको सबैभन्दा चेतनशील प्राणीको रुपमा लिइन्छ । त्यसैगरी मानिसको सबैभन्दा नजिकको पशुमित्रमा पनि कुकुर नै पर्छ । उसले मानिसले झैँ बोल्न नसकेपनि उसका आनीबानी र व्यवहारबाट परिचित भएको छनक दिन्छ ।

चीनमा एक जना मालिकले आफ्नो घरमा पालेको कुकुरका दुईवटा छाउराले सिरानी टोकेर प्वाल पारेको र च्यातेको भन्दै चिनियाँ भाषामा नराम्रोसँग गाली गरेको भिडियो देखिन्छ । ती छाउराले पनि मालिकले भनेको बुझे झैं गरेर गल्ती भएको स्वीकारेको भाव देखाउँछन् । ती छाउराका आमा कुकुर्नीले त्यो सबै दृश्य टाढा बसेर हेरिरहेकी हुन्छे ।

त्यत्तिकैमा एउटा छाउरा मालिकको किचकिच सुनेपछि त्यहाँबाट निस्किन खोज्छ तर मालिकले दिँदैनन् । बरु,बेला बेलामा माउ कुकुर्नीतिर फर्केर मालिक छाउरालाई राम्रोसँग हेर्न पर्दैन ? भन्दै चिनियाँ भाषामा कराउँछन् ।

सिरानी च्यातेको रिस सम्हाल्न नसकेपछि उनले लगाइराखेको चप्पल उठाएर ती छाउरालाई कुट्न खोज्छन् । तर परबाट ती सबै एकनासले हेरिरहेकी माउ आफ्ना छाउरालाई चप्पलले कुट्न खोजेको देखेपछि एक्कासी मालिकको हातमा रहेको चप्पलमा झम्टिन्छिन् र कुट्नबाट जोगाउँछिन् ।

त्यो क्रम धेरैबेर दोहोरिन्छ । आमा नजिकै आएपछि एउटा छाउरो आमाको पछाडि गएर लुक्छ भने अर्कोलाई मालिकले छोपेको हुँदा ऊ पनि चुप लागेर बसेको देखिन्छ ।

मालिकले जतिपटक चप्पल ताके पनि कुकुर्नीले उनको हातमा रहेको चप्पललाई मुखले टोक्दै हिर्काउनबाट रोक्छिन् । मालिकले पटक पटक गरेका ती सबै प्रयास अन्ततः एउटी आमाको बालबच्चाप्रतिको मायाको अगाडि असफल साबित हुन्छ ।

भाषा बुझिँदैन,तर कुरो सबै बुझिने उक्त भिडियो हेरेर एकछिन हामीले पनि कुकुरबाट शिक्षा लिने कि ?

टिप्पणीहरू