काठमाडौँको सडकमा दिनदहाडै लुटपाट
![काठमाडौँको सडकमा दिनदहाडै लुटपाट](https://janaaastha.prixacdn.net/media/albums/Pakrau_qT6wxcQaqB.jpg)
काठमाडौंको मित्रनगरमा दिनदहाडै लुटपाट गर्ने एक जनालाई प्रहरीले समातेको छ । मित्रपार्कस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे -५ की महिलाले घाँटीमा लगाएको करिब २ तोला सुनको सिक्री लुट्ने धादिङका रवि परियार समातिएका हुन्।
परियार सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा सोमबार दिउँसो पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बसपार्कस्थित बिष्णुमती खोला छेउबाट सिक्रीसहित समातेको हो ।
यता, सडकमा हिंडिरहेका अर्का एक युवक पनि लुटिएका छन् । म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका–१ का दिलकुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको हो । सडकमा हिँडिरहेको अवस्थामा अपरिचित १०/१२ जनाको समूहले उनलाई कुटपिट गरी नगद तथा मोबाइल लुटेको हो ।
लुटपाटको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू