हत्या, चोरी तथा लागूऔषध कसुरका ६ अभियुक्त पक्राउ

हत्या, चोरी तथा लागूऔषध कसुरका ६ अभियुक्त पक्राउ

बारा, महोत्तरी, मोरङ र बाँकेमा हत्यामा संलग्न दुईसहित भिन्दाभिन्दै कसुर गरेको आरोपमा छ जना पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिका–२ भरवलिया टोलका २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना, स्रोत नखुलेको रुपैयाँसहित एक जना, नगद चोरी गर्ने दुई जना, लागूऔषधसहित एक जना गरि छ जना पक्राउ परेका हुन् ।

असार ३ गते बिहान विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारमा कुटपिट गरी हत्या गरेको अवस्थामा बाटो छेउमा बैठाको शव फेला परेकोमा अनुसन्धानको क्रममा फेटा गाउँपालिका–३ फुलवरिया टोलका ३५ वर्षीय पारस महतो धानुक र विश्रामपुर गाउँपालिका–२, बरैनिया टोलका ७२ वर्षीय दास बाबा भन्ने वीरबहादुर यादव पक्राउ परेका हुन् ।

मृतक वीरेन्द्रले असार ३ गते विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारस्थित हुनमान मन्दिरमागाँजा तथा पैसा चोरी गर्ने उद्देश्यले आएको बखतमा मन्दिरका पुजारी वीरबहादुले टाउकोमा चिपिया (साधुले प्रयोग गर्ने फलामको चिम्टा) ले प्रहार गर्दा घाइते भई लडेपछि वीरेन्द्रलाई सोही मन्दिरमा सुत्ने गरेका पारस समेतले बाँसको भाटाले प्रहार गरी उनको हत्या गरेका थिए । घटना पश्चात् उनीहरुले अपराधबाट बच्ने उद्देश्यले शव बजारमा लगि फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यस्तै, स्रोत नखुलेको रुपैयाँसहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ स्थित सडकबाट स्रोत नखुलेको नगद ३९ लाख ८० हजार रुपैयाँसहित धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१ का ३८ वर्षीय संजय साह आज पक्राउ परेका हुन् ।

सञ्जयले चलाएको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा स्रोत नखुलेको १ हजार र ५ सय दरका गरी उक्त रुपैयाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता मोरङमा चोरी गरेको नगदसहित दुई जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–१० सोमबारेमा रहेको काबेली समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाबाट चोरी गरेको २ लाख ३० हजार ८ सय रुपैयाँ नगदसहित दुई जना आज बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय ज्ञानबहादुर पौडेल र सोही ठाउँका १९ वर्षीय बिकास बजगाई रहेका छन् । उक्त संस्थामा सोमबार राति चोरी भएको थियो ।

उता, बाँकेमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसगुरसहित बर्दिया मधुवन नगरपालिका–५ का १६ वर्षीय किशोर आज दिउँसो पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोबाईल सेटको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

टिप्पणीहरू