जाली नोट छाप्नेकै हालिमुहाली
फूलपातीको दिन बिहान चारखालस्थित सदरखोरमा ५ वर्षदेखि थुनिएका रोजित सिंह अन्य बन्दीलाई चिया बाँड्दै थिए । त्यति नै बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको उपलक्ष्यमा १०३ जना कैदी बन्दीले आममाफी पाए । जसमध्ये एक थिए, उनै रोजित । कसैले ‘खुशखवरी’ सुनाउनेबित्तिकै चियाको ट्रे जहाँको त्यहीँ छाडेर झोला पोको पारी बाहिर निस्किए । पाठकवर्गलाई लाग्न सक्छ, किन यी मान्छे समाचार बने ? किनकि उनी कुनै सामान्य कसुरदार थिएनन् । सिंगो मुलुकलाई नै टाट उल्टाउन सक्ने नक्कली नोटका कारोबारी थिए । आफैं नोट छाप्थे र बजारमा पठाउँथे । अर्को तथ्य अझ डरलाग्दो छ– उनी नेपाली नागरिक थिएनन् । भारत पञ्जाब, होसियारपुर घर भएका रोजितले नेपालीहरूको महान चाड दशैंमा क्षमादान पाए । ०६८ साल असोज १२ गते नक्कली नोटको कारोबार गर्दागर्दै जाली नोट १६,५०० रुपैयाँसहित कोटेश्वरबाट पक्राउ परेका थिए । उनले ६÷७ महिना अघिदेखि नोट छापेर गोदाममा राख्ने अनि विस्तारै साँट्ने गरेको समेत उतिबेलै स्वीकारेका हुन् । कोटेश्वरमा चुरोट खरिद गरी फर्कने क्रममा पसलेले नोट जाली रहेको थाहा पाएपछि हल्ला गरी निजलाई पक्रिएका थिए । सोही बेला प्रहरीले ५०० का २९ थान र १००० का २ थान नककली नोट फेला पारे । उनले नोट छाप्न प्रयोग गरेको प्रिन्टर मेसिन पनि मर्मत गर्न दिएको अवस्थामा पुतलीसडकस्थित समिरलाल श्रेष्ठको कास ट्रेडिङ हाउसबाट बरामद भयो । राष्ट्रबैंकले समेत जाँच गरी बरामद नोट जाली प्रमाणित गरेपछि उनलाई अदालतले मुलुकी ऐन, खोटा चलन महलको १ र ४ नम्बरबमोजिम कसुरदार ठहर गरी १० वर्ष कैद बिगोबमोजिम रु १६,५०० जरिवाना तोकेको थियो । तर मान्छे परे नोटको कारोबारी, त्यसैले होला शायद नोटकै बलमा १०३ भित्र पर्ने भाग्यमानी ठहरिए र खुला संसारमा बाहिरिए ।
टिप्पणीहरू