कलाकारले गर्न नसक्ने के छ त्यस्तो काम ?

  • राजेन्द्र स्थापित
मेरिक एडबर्ड क्लिफ्टन जेम्सको जन्म पश्चिमी अष्ट्रेलियाको पर्थमा भएको हो । प्रथम विश्वयुद्ध शुरु हुँदा १६ वर्षका थिए, तैपनि बेलायती सेनामा भर्ती भएर फ्रान्सको सोम्मेमा भएको लडाइँ लडे । विश्वयुद्ध सकेपछि चार्ली च्याप्लिनलाई प्रसिद्धीको शिखरमा पु¥याउने नाटक निर्माता फ्रेड कार्नोको संगतमा परेर अभिनयतर्फ लागे । २२ वर्षपछि सन् १९३९ मा फेरि अर्को विश्वयुद्ध शुरु भयो । बन्दुक नउठाउने तर बन्दुक बोक्ने सिपाहीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पुनः ब्रिटिश सेनामा भर्ना भए । सेकेण्ड लेफ्टिनेन्ट कर्णेल बनेर लाइसेष्टरमा खटिए । सन् १९४४ को अप्रिलमा पत्रिकामा फोटो छापियो । क्याप्सन थियो, ‘पाठकलाई लागेको होला, यिनी जर्नेल मोन्टगोमरी हुन् तर यी कलाकार क्लिफ्टन जेम्स हुन् ।’

लगत्तै ब्रिटिश गुप्तचर विभाग एमआइ–५ ले जेम्सलाई मोन्टगोमरी बनाई जर्मनीलाई झुक्याउने योजना बनायो । सेनाको चलचित्र बनाउँदै आएका ले. कर्णेल डेबिड निभेनले लण्डन लगे । त्यहाँ लिष्टरले भने, ‘मित्रराष्ट्रको तर्फबाट ठूलो आक्रमण गर्न लागिएको छ । फ्रान्समा सैनिक उतारेर सिधै जर्मनीको बर्लिन पस्ने योजना छ । तर, यो योजनालाई हिटलरबाट लुकाइराख्नु सजिलो छैन ।

थाहा पायो भने भयंकर आक्रमण गर्न सक्छ । यसकारण हामी झुक्याउन चाहन्छौं ताकि उसले अन्तै आक्रमण गरोस् । यो योजना स्वयं मित्रराष्ट्रका सुप्रिम कमाण्डर (जो पछि अमेरिकाको ३४ औं राष्ट्रपति बने) ड्वइट आइजनआवरले बनाएका हुन् ।’ स्मरणीय छ, उत्तरी फ्रान्स सन् १९४० र दक्षिणी फ्रान्स १९४२ मा जर्मनीको नियन्त्रणमा गइसकेको थियो । उत्तर–पश्चिमी युरोपलाई जर्मनीबाट मुक्त पार्न मित्रराष्ट्रको शक्ति ‘अपरेशन ड्रागन’ सञ्चालन गरेर उत्तरी फ्रान्समा निर्णायक आक्रमण गर्न चाहन्थ्यो तर त्यता हैन अन्तै आक्रमण हुँदैछ भनेर भ्रम फैलाउने योजना थियो । यसको लागि आइजनआवरले ‘अपरेशन कपरहेड’ बनाए । र, कर्णेल लिष्टरले जेम्सलाई सम्झाए– प्रचार यस्तो होस् कि मोन्टगोमरी इंग्ल्याण्डबाट रवाना भइसके र सम्भवतः उनैले आक्रमणको नेतृत्व गर्दैछन् ।

योजना सुनिसकेपछि जेम्सले भने, ‘मैले जर्नेल मोन्टगोमरीको भेषमा इंग्ल्याण्डबाट रवाना हुनुप¥यो होइन ?’ २५ वर्षको अभिनय अनुभव बटुलेका उनले योजनालाई सहज रुपमा लिए तर जब लिष्टरले योजनाबारे एक शब्द निकाल्न नपाइने खबरदारी गरे, चूप लागे । घर फर्केपछि योजनामा सहभागी हुने–नहुने दोधारमा परे तर जर्नेल मोन्टगोमरी बनेपछि लाखौं सैनिकको सलामी पाउने, पद–मर्यादा, खानपिन, उठबस सोहीअनुरुप हुने भएपछि लोभिए । जब उनले ‘हुन्छ’ भने, तब तालिम शुरु भयो । समाचार, चित्र, फोटो, चलचित्र हेर्न लगाइयो ।

मोन्टगोमरीका निजी स्टाफबाट जर्नेलका तौरतरिका, बोल्ने, बस्ने, खाने, ढंग सिकाइयो । ‘मोन्टी’ उर्फ जर्नेल मोन्टगोमरी चुरोट र मादक पदार्थ सेवन गर्दैनथे । खाने समय पशपन्छी र फूलको चर्चा मन पराउँथे । लडाईंको बारेमा कमै बोल्थे । दुवै हात पछाडि पारेर हिँड्थे । जेम्सले प्रथम विश्वयुद्धको दौरान दायाँ हातको माझी औंला गुमाएका थिए । त्यसमा कृत्रिम औंला लगाउन दिइयो । मोन्टीलाई सबै जनता किन यसरी मन पराउँछन् र उनैको नेतृत्वमा मात्र जर्मनी मित्रराष्ट्रको सेनाबाट परास्त हुनसक्छ भन्ने देखाउन उनी उपस्थित कार्यक्रममा लगियो । गाडीमा जाँदा सबैले अभिवादन गरेको र अभिवादन गर्न बिर्सेकालाई मोन्टी आफैंले हाँसेर अभिवादन गरेको जेम्सले देखे । सैनिक जवानलाई औधी माया गरेको, आत्मबल र हौसला दिएको देखे । प्रशिक्षणकै क्रममा एकदिन मोन्टीसँग भेट्न लगाइयो । कोठामा पस्दा मोन्टी केही लेख्दै थिए ।
जेम्सलाई देख्नासाथ मुसुमुसु हाँस्दै उठे । जेम्सले देखे, उमेरमा ९ वर्ष कान्छो भए पनि धेरै कुरा समान थियो, जिउडाल, उचाइ, अनुहार । धेरैले मोन्टीको बोली रुखो र अनाकर्षक छ भन्ने गरे पनि सरल भाषा बोल्ने बानी जेम्सले थाहा पाए । उक्त भेटबाट धेरै कुरा सिके । मोन्टीले यति मात्रै भने, ‘तिमीमाथि ठूलो जिम्मेवारी छ, आत्मविश्वास नडग्मगाऊ ।’

केही दिनपछि लिष्टरले भने, ‘भोलि साँझ ६ बजे मोन्टगोमरी बन्नेछौ । तिमीलाई अभिवादन गर्न विमानस्थलसम्म सडकमा हजारौं मानिस भेला हुनेछन् । भोलिपल्ट बिहान ८ बजे प्रधानमन्त्रीको हवाईजहाजबाट जिब्राल्टर (दक्षिणी स्पेननजिकको बेलायत अधिनस्थ टापु) मा उत्रनेछौ । हामीले सम्पूर्ण अफ्रिकी समुद्र तटमा जर्नेल मोन्टगोमरी दक्षिण फ्रान्समाथि आक्रमण गर्न एंग्लो–अमेरिकी सेना गठन गर्न आउँदैछन् भन्ने हल्ला चलाइसकेका छौं । त्यसैले तिमीले सम्पूर्ण मध्यपूर्वको यात्रा गर्नुपर्नेछ ताकि हल्ला सत्यजस्तो देखियोस् । याद गर्नु, तिम्रो एक–एक गतिविधि हिटलरका जासुसहरुले निगरानी गरिरहेका हुनेछन् । तिमीले परिस्थिति जस्तो बन्छ, सोहीअनुरुप दिमाग लगाउनुपर्नेछ । हाम्रा ठुल्ठूला सैन्य अफिसर तिम्रो मातहत हुनेछन् । उनीहरुलाई सोहीअनुरुप व्यवहार गर्नू । भोलि विमानस्थलतर्फ हिँड्दा दर्शकले ताली बजाएर स्वागत गरे भने सम्झनु, तिमी मोन्टी बनिसकेका छौ ।’ भोलिपल्ट जर्नेल मोन्टगोमरीको सैनिक पोशाकमा जेम्सलाई देखेपछि लिष्टर निकै खुशी भए । ‘पख, एउटा काम बाँकी छ’ भन्दै केही रुमाल दिए अनि भने, ‘आफूलाई ठीक लागेको स्थानमा एउटा–एउटा रुमाल खसाल्दै जानू । यी रुमालमा मोन्टगोमरीको नाउँ छ ।’ यति भन्दै लिष्टरले जेम्ससँग हात मिलाए । सफलताको शुभकामना दिएर हिँडे ।

जेम्सले लगाइराखेको कोट मिलाए । दुईजना निजी सचिव ब्रिगेडियर हैवुड र क्याप्टेन मुरसँगै भ¥याङबाट उत्रन थाले । तल तीनवटा सैन्य गाडी तयार थियो । तीमध्येको एउटा जसमा मोन्टीको ओहोदा (फिल्ड मार्शल) को झण्डा फहराइरहेको थियो, वरिपरि भीड जम्मा भइसकेको थियो । जेम्स बस्नेबित्तिकै गाडी अगाडि बढ्यो । भीडले ताली बजाएर स्वागत ग¥यो, जेम्सले पनि मोन्टीसरह मुसुक्क हाँसेर जवाफ फर्काए । केही मानिस बोल्दै थिए, ‘हाम्रा असल बूढा मोन्टी ।’ जेम्स हात उठाएर नमस्कारको जवाफ फर्काउँदै थिए । त्यसो गर्दा हात दुखिसकेको थियो । नाथल्टों विमानस्थलमा ठूलो भीड जम्मा थियो । जेम्स जाने विमाननजिक वरिष्ठ सैन्य अधिकृतहरु लाइनमा खडा थिए । जेम्स हाँस्दै सबैको सलामीको जवाफ दिँदै अघि बढे । उपस्थित सैन्य अधिकृतमा कतिपय मोन्टीका अनन्य मित्र थिए तर चिन्न सकेनन् । ब्रिगेडियर हैवुड पछि–पछि थिए । पाइलटलाई जेम्सले ‘के छ स्ली ? हामी समयमै पुग्छौं हैन ?’ भने । पाइलट स्लीलगायत अरुसित पनि मौसमबारे चर्चा गरे । त्यसपछि विमान चढे । ढोकामा उभिएर सबैलाई अभिवादन गरे ।

भोलिपल्ट बिहानै (मे २६ मा) विमान जिब्राल्टर विमानस्थलमा अवतरण भयो । तल गाडीको लामो लाइन थियो, सैन्य अधिकृतहरु पंक्तिबद्ध थिए । भीडमा मजदुरहरु पनि थिए, जर्मन जासुस त हुने नै भए । हैवुडले भने, ‘यस्तो गर्नुस् ताकि धेरैभन्दा धेरैले तपाईंलाई देखुन् ।’ विमानको ढोका खोलेर जेम्स प्रकट भए । भीड शान्त भयो । जेम्स ठीक मोन्टीले जस्तै अभिवादन गर्दै भ¥याङबाट उत्रन थाले । स्वागत कार्यक्रमपछि त्यहाँको सडकमा स्पेनीहरुको भीडबाट जेम्सलाई लगियो । दरबारबाहिर झन् ठूलो भीड जम्मा थियो । त्यहाँ सलामी दिइयो । उक्त टापुका राज्यपाल, जो मोन्टीका पुराना र अनन्य मित्र हुन्, जनरल सर राफ स्टुवुडले स्वागत गर्दै भने, ‘हेलो मोन्टी, लामो अन्तरालपछि भेट्न पाउँदा औधी खुशी भएँ ।’

प्रशिक्षणमा भनिएअनुरुप जेम्सले राफलाई मन पर्ने नाउँबाट संबोधन गर्दै भने, ‘के छ रस्टी ?’ सकेसम्म मोन्टीले जस्तै बोल्ने प्रयास गर्दै भने, ‘के हो, तिमी त एकदम हृष्टपुष्ट देखिएका छौ ?’ त्यति भन्नेबित्तिकै राफको हात च्याप्प समाए । राफले जेम्सलाई आफ्नो निजी कोठामा लिएर गए । दायाँबायाँ हेर्दै ढोका लगाए । अनि एकदम गम्भीर भएर जेम्सलाई हेर्न थाले । अनुहार हँसिलो बन्यो । बडो मायालु पाराले हात मिलाउँदै भने, ‘मलाई अझै शंका छ, तिमी मोन्टी होइनौ । मलाई लाग्दैछ योजना परिवर्तन गर्दै आफैं आएका हौ ।’

‘राम्रोसित हेर र आवाज चिन्ने कोशिश गर ।’ त्यति भन्दै जेम्सले आवाज फेरे । बल्ल राफलाई थाहा भयो कि आफ्नो अगाडि उभिइरहेका व्यक्ति मोन्टी त हुन् तर आफ्ना पुराना साथी होइनन् । ब्रिटिश सरकारले जेम्सलाई मोन्टी बनाएर जिब्राल्टर पठाउन लागेको सूचना राज्यपाल राफलाई दिइएको थियो । त्यसैले राफलाई थाहा थियो, मोन्टी बनेर आएका कलाकार जेम्स हुन् भन्ने तर पनि रनभुल्लमा परे । जेम्सले कोठामा एक्लै नास्ता लिए । नास्तापछि झ्यालमा उभिए । अगाडि घरको छतमा एकजना मान्छे राइफल लिएर उभिएको देखे । उनी निकै डराए तर ध्यानपूर्वक हेर्दा ती व्यक्तिसँग राइफल होइन, दुरबिन रहेको थाहा पाए । राज्यपालले दिएको सूचनाअनुरुप ठीक १२ मिनेटपछि दुवै दरबारपछिल्तिरको बगैंचामा टहल्न जाने, त्यसैबेला स्पेनका दुई ठूला महाजन गलैंचा हेर्न आउने, उनीहरुको दृष्टि बगैंचामा टहलिरहेका जेम्समाथि पर्नुपर्ने थियो । भन्दाभन्दै राज्यपालले जेम्सलाई इशारा गरे । घडी हेरे । अनि बगैंचातर्फ लगे । बगैंचामा टहल्दै गर्दा जेम्सले नजिकको घरमा उनै स्पेनी मजदुरलाई देखे, जसले दुरबिन लगाएर हेर्दै थिए । जेम्सले हेर्नेबित्तिकै सामान्य भएर काम गर्न थाले । ठीक त्यसैबेला मुख्यद्वार खुल्यो ।
कालो सुट लगाएका दुईजना स्पेनी पसे । राज्यपालले मसिनो स्वरमा भने, ‘नहड्बडाउ जेम्स, दिमागको सन्तुलन नगुमाऊ ।’ जेम्सले यसपछि राज्यपालसँग यसरी कुरा गर्न थाले आगन्तुकलाई लागोस् कि नजर पर्दै परेन । जेम्सले भने, ‘अँ रस्टी, क्याबिनेट प्लान ३०३…।’ राज्यपालले जेम्सको हात थिचे । जेम्सले कुरोलाई रोकेजस्तै गरेर टाउको फर्काए र भर्खरै देखेजस्तो गरी अनुहारमा आश्चर्यको भाव निकाले । राज्यपालले अभिवादन गर्दै नक्कली मोन्टीको परिचय दिए । उनीहरु आश्चर्य मानेर मोन्टीलाई हेरिरहे । जेम्स मोन्टीजस्तै दुवै हात पछाडि बाँधेर उभिइरहे । वास्तवमा ती दुवै जर्मन जासुस थिए । एकजनाले जेम्सलाई घुर्दै रहे भने अर्काले पनि राफसँग गफ गरेको भान पारे । पुग्नेजति हेरिसके भन्ने लागेपछि जेम्सले भने, ‘ठीक छ, मलाई विश्वास छ, मौसम सफा रहनेछ । मलाई अझै धेरै टाढा उडान भर्नु छ ।’ यति भनिसकेपछि ती दुई आगन्तुक फर्के । मोन्टी मध्यपूर्वको यात्रामा जाँदैछन् भन्ने प्रचारपछि जर्मनीले जासुसलाई दुई स्पेनी महाजनको भेषमा पठाइएको थियो । त्यसबाहेक जिब्राल्टरमा अरु दुईजना जर्मन जासुस सक्रिय थिए, एकजना उनै मजदुर र अर्का विमानस्थलमा कार्यरत । उनीहरुले दिएकै सूचनाको आधारमा हिटलरले मोन्टी जिब्राल्टर पुगिसकेको र अर्को विमानबाट अफ्रिकातर्फ जान लागेको थाहा पाए । सन्देश प्राप्त गर्नेबित्तिकै बर्लिनले म्याड्रिडलाई ‘प्लान ३०३’ बारे जानकारी हासिल गर्न आदेश दियो । लगत्तै जर्मन जासुसहरु सक्रिय भए ।

जिब्राल्टरबाट प्रस्थान गर्ने दिन विमानस्थलमा जेम्सलाई पुनः सलामी दिइयो । जेम्सले राफलाई क्यान्टिनमा लगे । किनभने त्यहाँ चौथो जर्मन जासुस थिए । उनले सुन्नेगरी मनगढन्त कुरा निकाले । खाडीतर्फ हातले इशारा गर्दै भने, ‘…यदि हामीले ३ बजेसम्मका लागि खाडीको अधिकार सरकारबाट लिन सक्यौं भने हाम्रा प्राविधिकले प्लान नं. ३०३ लाई ठीक ढंगले जडान गर्नेछन् ।’ राफले पनि इशारा गरी बोल्दै जाऊ भन्न थाले । जेम्स त्यहाँबाट अल्जेरियातर्फ रवाना भए । उनी पुग्नुअगावै मोन्टगोमरी ठूलो योजना लिएर आउँदैछन् भन्ने हल्ला चलाइसकिएको थियो । विमानस्थलमा जर्नेल विल्सनका सेनाध्यक्षले स्वागत गरे । त्यहाँबाट सेनाको निरीक्षण गरे । त्यहाँ पनि मोन्टीलाई हेर्न ठूलो भीड जम्मा भएको थियो । भीडमा दुईजना इटालियन थिए । उनीहरु मित्रराष्ट्रको समर्थक भए पनि यथार्थमा जर्मन जासुस थिए । त्यहाँ कार्यरत फ्रान्सिसी मेजर पनि जर्मनकै लागि काम गर्थे । त्यहाँ पुग्नेबित्तिकै ती मेजरले जेम्ससँग भेट्न समय मागे तर उनले पनि जेम्सलाई चिनेनन् । बाटोमा पनि उनको भव्य स्वागत गरियो । उनी जर्नेल विल्सनको निवासमै बसे । भ्रमणको दौरान सक्कली मोन्टीलाई नजिकबाट चिन्नलाई सकेसम्म टाढै राखियो, जानाजानी जर्मन जासुसहरुले देख्ने कार्यक्रममा लगियो । अफ्रिका भ्रमणकै क्रममा एउटी फ्रान्सिसी महिलासँग भेट भयो । तिनका लोग्ने फ्रान्सेली प्रतिरोध आन्दोलनको दौरान जर्मन गुप्तचर संस्था ‘गेस्टापो’ को नियन्त्रणमा परेका थिए । पछि उनी पनि समातिइन् । गेस्टापोले पछि लोग्नेलाई मारिदिने धम्की दिएर ती महिलालाई जासुसी काममा लगाएको रहेछ । कुराकानीकै क्रममा महिलाले युद्धलाई शैतान र जेम्सलाई शैतानहरुको देवता भनी गाली गर्न थालिन् तर ठीक समयमा हैवुड आएर जेम्सलाई बचाए ।

एक सातापछि जेम्स अल्जेरिया फर्के । जनरल विल्सनको निवास पुगेर मोन्टीको बर्दी फुकाले तर त्यसबेलासम्म फ्रान्समाथि मित्रराष्ट्रले आक्रमण गरिसकेको थिएन तसर्थ जेम्सलाई सार्वजनिक हुन दिइएन । बरु एकदिन कसैले थाहा नपाउनेगरी राति विमानस्थल लगियो र कायरोतर्फ पठाइयो । उनी त्यहाँ त्यसबेलासम्म बसे, जबसम्म मित्र राष्ट्रको सेनाले सन् १९४४ को जुन ६ मा उत्तरपश्चिम फ्रान्सस्थित नोर्मण्डी क्षेत्रमा आक्रमण गरेर जर्मनीविरुद्ध निर्णायक युद्ध छेडेन । नक्कली मोन्टीको कारण मित्रराष्ट्रलाई ठूलो लाभ मिल्यो । फ्रान्समाथिको आक्रमण सहज बन्यो । उता, नक्कली मोन्टी बनेको पाँच हप्तापछि जेम्स सक्कली भेषमा लण्डन फर्के । दोस्रो विश्वयुद्ध सकेपछि पुनः नाटकमा काम गर्न भौंतारिँदै हिँडे तर काम पाएनन् । केही सीप नलाग्दा पत्नी र छोराछोरीको पालनपोषणका लागि सरकारसँग अनुदान माग्न विवश भए । सन् १९५४ मा ‘आइ वज मोन्टिज डबल’ पुस्तक प्रकाशित गरे, पछि त्यसैमा आधारित चलचित्र बन्यो । चलचित्रमा मोन्टगोमरीको भूमिका उनैले निभाए । उनको निधन ६५ वर्षको उमेरमा सन् १९६३ मे ८ मा भयो । पहिलो, दोस्रो विश्वयुद्धलगायत थुप्रै युद्ध लडेका सक्कली फिल्डमार्शल मोन्टगोमरी, जसले दोस्रो विश्वयुद्धको दौरान उत्तरी जर्मनीमा जर्मन सेनालाई आत्मसमर्पण गर्न बाध्य पारे र विश्वयुद्धपद्धि जर्मनीको राइनमा तैनाथ बेलायती सेनाको सेनापति बने, उनको निधन भने ८८ वर्षको उमेरमा सन् १९७६ को मार्च २४ मा भयो ।

टिप्पणीहरू