सबैले सिक्न मिल्ने अथाह ज्ञान छ संसारमा

सबैले सिक्न मिल्ने अथाह ज्ञान छ संसारमा

चीनमा चाऊ वंशको शासन चलिरहेको थियो । ती शासकहरू कमजोर भएकाले त्यसबेला विभिन्न राज्य आपसमा झगडा गरिरहन्थे । यसैबेला कन्फुसियसको (कोङ खिउ) को जन्म इ.पू.५५१ मा सानतुङ प्रदेशमा भयो । उनमा ज्ञानको आकांक्षा असिम थियो तर बाल्यकालमै पिताको मृत्यु भएकाले ज्ञान आर्जन गर्न एकदमै कठिन भयो । १७ वर्षको उमेरमा एउटा सरकारी नोकरी पाए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण त्यसमा धेरै समय रमाउन सकेनन् । नोकरी छाडेर शिक्षण कार्यमा लागे । घरमै विद्यालय खोलेर विद्यार्थीलाई पढाउन थाले । मुख्यगरी इतिहास, काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे । उनले पछि काव्य, इतिहास, संगीत र नीतिशास्त्र विषयक पुस्तक पनि लेखे । महान् दार्शनिक र विचारक उनी चीनका लाओत्से, ग्रिसका सुकरात, भारतका महावीर र नेपालका शाक्यमुनी बुद्धको समकालीन थिए ।

५३ वर्षको उमेरमा एउटा शहरको शासनकर्ता तथा पछि मन्त्रीसमेत बने । अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार सुधार्नतिर लागे । आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए । सदाचारमा अधिक जोड दिन्थे । विनयी, परोपकारी र चरित्रवान बन्न प्रेरणा दिन्थे । अग्रज तथा बृद्धहरूलाई आदर–सम्मान गर्न सिकाउँथे । उनी भन्थे, ‘अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ ।’ उनैको विचार र दर्शनको कारण त्यो बेलाको अशान्त चीन शान्त चीनमा परिणत भएको मानिन्छ ।

एकदिन एकान्तमा बसेर चिन्तन गर्दै थिए । त्यसैबेला सम्राटको सवारी भयो । एकाग्रमा बसेका उनले ध्यानै दिएनन् । यस्तो व्यवहार देखेर सम्राट क्षुब्ध बने किनभने उनी जहाँ जान्थे प्रजा नतमस्तक भएर सम्मान गर्थे । उनी सन्तजस्तो देखिने कन्फुसियसको नजिक पुगेर सोधे,

‘तिमी को हौ ?’

कन्फुसियसले जवाफ दिए, ‘म सम्राट हुँ ।’

जवाफ सुनेर सम्राटलाई रिस उठ्यो अनि आश्चर्य पनि । क्रोधलाई दबाउँदै भने, ‘सम्राट त म हुँ । राजाहरूको पनि राजा । हेर, मसँग सेना छ । सेवकहरू छन्, धनसम्पत्ति छ । मान–सम्मान सबै छ । तिमीसित त केही पनि छैन । तिमीसित न दरबार छ न राजा–महाराजाहरूको जस्तो ठाँट–बाँट । न कोही सेवक । तिमीसँग त बस्नलाई राम्रो एउटा घरसम्म छैन । तिमी कसरी सम्राट हुन सक्छौ ?’

कन्फुसियसले अत्यन्त नम्रतापूर्वक जवाफ दिए ‘हेर्नुस्, सेना त उसलाई आवश्यक हुन्छ जसका शत्रु हुन्छन्, मेरो त कुनै शत्रु नै छैन । सेवक, नोकर–चाकर उसलाई चाहिन्छ जो स्वयं अल्छी छ, आफ्नो काम आफैँ गर्ने सामथ्र्य राख्दैन । म न कमजोर छु, न अल्छी, न कामचोर । त्यसैले सेवकको कुनै जरुरत छैन । जहाँसम्म धनसम्पत्तिको कुरा छ, त्यो त उसलाई मात्र चाहिन्छ, जो गरिब छ, दरिद्र छ ।’
कुरा सुनेर सम्राट छक्क परे र फेरि सोधे, ‘खै तिम्रो सम्पत्ति पनि देख्दिनँ त म ।’

कन्फुसियसले मुसुक्क हाँस्दै जवाफ दिए, ‘मसँग सन्तुष्टि छ । यो सुन, चाँदी, हीरा, जवाहरात यो सबै बेकार छ मेरोनिम्ति । अब तिमी नै भन राजा को ? सम्राट को ?’

सम्राट कन्फुसियसप्रति नतमस्तक बने । खुट्टा ढोगे ।

एकपटक कन्फुसियस आफ्ना शिष्यहरूसँगै ताइ नाउँको पहाडी बाटो भई कतै जाँदै थिए । जाँदाजाँदै एक ठाउँमा पुगेर सबै टक्क रोकिए । शिष्यहरूले जिज्ञासु आँखाले उनलाई हेर्न थाले । कन्फुसियसले भने, ‘कहीँ–कतै कोही रोइरहेजस्तो लाग्छ ।’

त्यति भन्दै उनी आवाज आएको दिशातिर लम्के । शिष्यहरू पनि पछि लागे । अलि पर एउटी महिला रोइरहेको देखे । कन्फुसियसले सहानुभूतिपूर्वक कारण सोधे । महिलाले जवाफ दिइन्, ‘यो स्थानमा मेरो छोरालाई एउटा चितुवाले मारिदियो ।’
उनले फेरि सोधे, ‘तिमी एक्लै छौ त, परिवारका अरू सदस्य खोइ ?’

महिलाले रुन्चे स्वर निकाल्दै भनिन्, ‘मेरो परिवारमा को छ र ? यही पहाडमा मेरो ससुरा र लोग्नेलाई पनि चितुवाले खाइदियो ।’
कन्फुसियसले आश्चर्य मानेर फेरि सोधे, ‘त्यसो भए यस्तो खतरनाक स्थान छाडेर कतै किन हिँड्दिनौ त ?’

महिलाले जवाफ दिइन्, ‘म यो स्थान यसकारण छाड्न चाहन्नँ किनकि यहाँ कुनै अत्याचारीको शासन छैन ।’ महिलाको जवाफ सुनेर महात्मा कन्फुसियस अत्यन्त चकित भए । शिष्यहरूतिर हेर्दै भने, ‘निश्चित रूपमा यिनी करूणा र सहानुभूति पाउनयोग्य छिन् तर यिनको कुरोबाट हामीले एउटा नयाँ सत्य जान्न पाएका छौं, त्यो के हो भने अत्याचारी शासक चितुवाभन्दा भयंकर खतरनाक हुँदा रहेछन् । अत्याचारी शासनमा बस्नुभन्दा निर्जन जंगल वा पहाडमा बस्नु उत्तम रहेछ । त्यसैले जनताको कर्तव्य हुन जान्छ अत्याचारी शासनको जसरी पनि विरोध गर्ने अथवा शासकलाई शासनमा सुधार ल्याउन बाध्य पार्ने । अत्याचारी शासकको भयमा बस्ने र अत्याचार सहेर बस्ने जनताले कहिल्यै पनि समाजको उन्नति गर्न सक्दैनन् । विकासहीन समाजमा बस्नेको जीवन नारकीय हुन्छ, सदासर्वदा अवनतिको खाल्डोमा जकडिएको हुन्छ । त्यसैले सबैको कल्याण यसैमा हुन्छ कि कुशासनलाई पल्टाउन लागिपरून् । सजग बनुन् अनि सुशासन ल्याउन पहल गरुन् ।’

इसापूर्व ४७९ मा कन्फुसियस ७० वर्षको भइसकेका थिए । जीवनको अन्तिम समय । मृत्युको नजिक । शिष्यहरूलाई नजिक बोलाए । जीवनको अन्तिम शिक्षा दिने हेतुले भने, ‘प्रिय शिष्यहरू, मेरो मुखभित्र नियालेर हेर त, भित्र जीब्रो छ कि छैन ?’

एउटा शिष्यले गुरूको मुखभित्र हेरे अनि भने, ‘गुरूवर, जीब्रो त छ ।’

त्यसपछि उनले अर्को एकजना शिष्यतिर संकेत गर्दै अर्को प्रश्न सोधे, ‘हेर त, मेरो मुखमा दाँत छ कि छैन ?’

ती शिष्यले आफ्नो गुरूको मुखभित्र हेरे र भने, ‘गुरूदेव, तपाईंको त एउटा पनि दाँत छैन ।’

त्यसपछि कन्फुसियसले सोधे, ‘पहिला दाँत पलायो कि जीब्रो?’

यसपटक सबै शिष्यले एउटै स्वरमा जवाफ दिए ‘जीब्रो ।’

जवाफ एकदम ठीक छ भन्दै अर्को प्रश्न सोधे, ‘शिष्यहरू, जीब्रो जुन दाँतभन्दा जेठो छ, त्यो अहिलेसम्म छ तर दाँत जुन जीब्रोभन्दा कान्छो हो नष्ट भइसक्यो । यस्तो किन ?’

गुरूको पछिल्लो प्रश्न सोधेर सबै जना एकले अर्कोको अनुहार हेर्न थाले । कसैको दिमागमा पनि उत्तर फुरेन । सबै जना चुप बसेको देखेपछि कन्फुसियसले सम्झाउँदै भने, ‘हेर, जीब्रो सरल छ, नरम छ । त्यसैले त्यो अहिलेसम्म छ । दाँत क्रूर र कडा छ त्यसैले छिट्टै नष्ट भयो । त्यसैले तिमीहरू पनि जीब्रो समान सरल र कोमल बन । ’

यति भनेर उनले सदाका निम्ति आँखा चिम्लिए ।

राजा उदयन वत्स महाजनपदका राजा । वत्स यतिबेला भारतको उत्तरप्रदेशमा पर्छ । उदयन सिध्दार्थ गौतम बुद्धकालीन राजा । उनकी रानी वासवदत्ता, अवन्ति महाजनपद (वर्तमानमा माल्वा क्षेत्र) का राजा प्रद्योतकी छोरी । बुद्धकालीन भारतमा राजा उदयन र वासवदत्ताको प्रेम कथा अत्यन्त लोकप्रिय बनेको थियो । उनै वासवदत्ताले एकदिन बुद्धको संघलाई ५ सय थान तन्ना दान दिइन् ।

दानको तन्ना लिन भिक्षु आनन्द दरबार आए । बुद्धका प्रमुख १० शिष्यमध्येका एक हुन् आनन्द । गौतम बुद्ध र आनन्द दाजुभाइ थिए । उनीहरू दुबैका पिता दाजुभाइ पनि । जब आनन्द वत्सको राजधानी कौसम्भीस्थित दरवार छिरे, राजा उदयनले ठूलो सत्कार गरे । र, दान दिएको वस्त्र लान वाहनको व्यवस्था गरिदिए । आनन्द जब हिँड्न लागे उदयनले आफ्नो दिमागमा सिर्जित जिज्ञासा मेट्ने हेतुले दुई हात जोड्दै नम्र भएर सोधे, ‘भन्ते, यत्रो तन्ना तपाईंहरू के गर्नुहुन्छ ?’

आनन्दले उत्तर दिए, ‘ज–जसको चिवर च्यातिइसकेको छ यो उनीहरूलाई दिन्छु ।’

उदयनले फेरि सोधे, ‘भिक्षुहरूको च्यातेको पुरानो चिवरलाई के गर्ने ?’

आनन्द, ‘त्यसबाट बिछ्यौनाका लागि ओछ्याउने तन्ना बनाउने ।’

‘बिछ्यौनामा पहिला ओछ्याइराखेका फाटेका तन्ना के गर्ने ?’

‘काँटछाँट गरेर त्यसबाट तकियाको खोल बनाउने ।’

‘पुरानो तकियाको खोललाई के गर्ने ?’

‘त्यसलाई गाँसेर, गाँठो पारेर धुलो सफा गर्ने पोछा (कुचो) बनाउने ।’

‘पुरानो पोछालाई के गर्छौ ?’

‘त्यसलाई माटोमा मुछ्ने अनि घरको भित्ता लिप्न उपयोग गर्ने ।’

आनन्दको कुरा सुनेपछि राजा उदयनलाई बुद्ध संघको अर्थनीतिमाथि पूरापूर विश्वास जाग्यो । उनले आफ्नो राज्यमा पनि त्यस्तै मितव्ययी अर्थनीति लागू गरे । कुनै पनि वस्तु खेर नफाल्न हुकुम जारी गरे ।

टिप्पणीहरू