सार्वजनिक सवारीमा नयाँ भाडादर सार्वजनिक

सार्वजनिक सवारीमा नयाँ भाडादर सार्वजनिक

सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवसायीले गरेको भाडा समायोजनलाई गत असार २८ गते सरकारले सहमति दिएपछि आज नयाँ भाडादर आएको हो ।

पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यबृध्दि तथा अन्य सूचकको अंशलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । जसअनुसार लामो दूरीका सवारी साधनको भाडादर २८ प्रतिशतसम्मले बढाइएको छ । पछिल्लो पटक २०७५ सालमा १० प्रतिशतले भाडा बृद्धि गरिएकोमा यसपटक भने एकैचोटी २८ प्रतिशत पुर्याइएको हो ।

लामो दूरीका यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडमा चल्ने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईमा चल्ने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्मले भाडा बृद्धि गरिएको छ ।

त्यसैगरी, मालवाहक सवारी साधनमा तराई र पहाडतर्फ क्रमश: प्रतिकिलोमिटर ६ रुपैयाँ १५ र ११ रुपैयाँ ९४ पैसाले भाडा बढाइएको छ । त्यस्तै, २५० किलोमिटर भन्दा बढि चल्ने यात्रुवाहक माइक्रोबसमा प्रतिब्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ४३ पैसा, २५ देखि २५० किमिसम्म चल्नेमा प्रतिकिलोमिटर २ रुपैयाँ ४९ पैसा तथा काठमाडौँ-पोखरा र पोखरा-नारायणघाट सडकखण्डमा चल्ने सवारी साधनमा प्रतिकिलोमिटर २ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

नयाँ भाडादरमा डिलक्स सवारी साधनले भने थप २० प्रतिशत बढी भाडा लिन पाउने ब्यवस्था मिलाइएको छ । यता, लामो दूरीका सवारी साधनको मात्र भाडा बृद्धि भएको भन्दै ट्याक्सी तथा छोटो दूरीमा चल्ने सवारीसाधनले आन्दोलनको घोषणा गरेका छन् ।

टिप्पणीहरू