भ्रष्टाचारी भन्दै वडा अध्यक्षमाथि जाइलागे बिप्लव

भ्रष्टाचारी भन्दै वडा अध्यक्षमाथि जाइलागे बिप्लव

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले भ्रष्टाचार गरेको भनिएका वडाध्यक्षलाई कारबाहीको माग गरेको छ । सानो भेरी गाउँपालिका ८ का वडाध्यक्ष शशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँरा सिँचाईं आयोजना उपभोक्ता समितिबाट ३ लाख रुपैयाँ भ्रष्टाचार गरेकोमा जनकारबाही गरिएको विप्लव माओवादीले जनाएको छ ।

तर, त्यहि प्रतिशोधमा नेकपाका कार्यकर्ता शिव र प्रकाशलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको र उक्त विषयका सन्दर्भमा केही सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो । पार्टीको जिल्ला सेक्रेटरी चन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्षलाई कारबाहीको माग गर्दै कारबाहीका कारणहरु उल्लेख गरेका छन् ।

सेक्रेटरी चन्द्रले राज्यको ढुकुटीको चरम दोहन गर्ने, जनतामाथि शोषण, उत्पीडन र विभेद लाद्ने कथित जनप्रतिनिधि र कथित स्थानीय सत्ता भ्रष्टाचारको अखडामाथि जनअनुमोदित जनसंघर्षहरु अगाडि बढाउँदा जनताको पूर्णसमर्थन र सहभागिता रहेको बताउँदै गिरफ्तार परेका शिव र प्रकाशको रिहाईको माग गरेका छन् ।

उनीहरुलाई रिहा नगरे संघर्षका कार्यक्रमहरु अगाडि बढाउने बताउँदै घटनालाई तोडमरोड गरेर विप्लव कार्यकर्ताद्वारा वडाध्यक्षलाई कुटपिट गरिएको समाचारमा कुनै सत्यता नरहेको चन्द्रले बताएका छन् । त्यस्तै, योङ कम्युनिष्ट लिग नेपाल, सानोभेरी गाउँपालिकाको प्रेस नोटमा पार्टी कार्यकर्तामाथि लगाइएको चन्दा आतंकको आरोप हास्यास्पद, कपोलकल्पित र मिथ्या भनिएको छ ।

भ्रष्टाचारमा संलग्न व्यक्तिको बारेमा बहस भइहँदा पार्टीले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण गर्नेगरी बचाउ अभियानमा तीव्रताकासाथ लाग्नु स्वयम् माओवादी केन्द्रका लागि र सचेत समुदायका लागि लज्जाको विषय बनेको विप्लवले ठहर गरेको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काको रहस्यमय किसिमले भएको हत्याको न्यायोचित छानबिन गर्न पनि नेकपा विप्लवको रुकुम पश्चिमले माग गरेको छ ।

टिप्पणीहरू