जिम्मा कसले लिने जर्साब ?

सोलुखुम्बुको सल्लेरीस्थित श्री अमरदल गुल्मका सकल दर्जा र जवानको नाममा राज्यले दिएको खाद्यसामग्रीदेखि अत्यावश्यक सुविधा हाकिमले खाने गरेका छन् । जवान नियमित बिदा बस्दा र काजमा जाँदा आउने खाजा रकम गुल्मको कोषमा जम्मा हुनुपर्नेमा हालसम्म एक पैसा राखिएको छैन । ठेकेदारले महिना बितिसक्दा पनि दूध र बिस्कुट आपूर्ति नगर्दा कुनै जिम्मेवार अधिकारी बोल्दैनन् ।

ठेकेदारले स्केलबमोजिम खाजा नल्याएर जवानले अड्कोपड्को तेलको धुप भनेझैं समय कटाउनुपरेको छ । जवान घरबिदामा जाँदा खपत नभएको रासन बचत हुनुपर्नेमा उल्टै ठेकेदारले ५ हजार प्याकेटभन्दा बढी बिस्कुट स्केलभन्दा बढी आपूर्ति भएको भन्दै हिसाब पेश गरेपछि हाकिमको बदमासी खुलेको हो । गत दशैंमा गुल्मपूजा गर्दा बलि दिइएका पशुको मासु नै स्केलको रूपमा वितरण गरी यसमा समेत हजारौं घोटाला गरियो । यसरी राज्यले सेनाका लागि दिएको रासनदेखि मासुमा समेत घोटाला गर्ने गुल्मपति र आसेपासेले अन्य जिन्सी, उपकरण र नगदमा कति लामो हात गरेका होलान् ?

छानबिन गर्ने निकाय वा सञ्चारमाध्यमको समेत आँखा नपुग्ने हुनाले सैनिक ब्यारेकमा हुने भ्रष्टाचारले सीमै नाघेको छ । ठेकेदारसँग सेटिङ मिलाएर नेतृत्वले अनियमितता गर्नु विशेषता नै बनिसक्यो । चर्को अनुशासन, चेनअफ कमाण्डमा चल्नुपर्ने भएकाले आफूभन्दा माथिका सैनिक अधिकारीले आफ्नो खाना, खाजा र दूध हसुर्दा पनि सैनिक जवान बोल्न सक्दैनन् । आन्तरिक भ्रष्टाचार जति गरे पनि विरोधमा रहेको बुझ्नासाथ हाकिमले अनुशासनको नाममा उल्टै जागिर नै सिध्याइदिने वा दुःख दिने धम्की दिएपछि बिचरा जवान खाडीमा मुसलमान मालिकको यातनाबाट तर्सिएको नेपाली कामदारजस्तै खुम्चन बाध्य हुने गर्छन् र यस्ता भ्रष्टाचार कम नै सार्वजनिक हुन्छन् । खाजा र खाना पनि सरकारी स्केलबमोजिम नपाउने बहादुर नेपाली जवानको असन्तोषको सीमा नाघ्यो र विद्रोह भयो भने जिम्मा लिने कसले ?

– पीडित सैनिक

टिप्पणीहरू