प्रवक्ताको यस्तो त छ पारा

धोतीको जुम्रा टुप्पीमा पुग्यो भने कति बितण्डा मच्चाउला ? यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले यस्तै गरेका छन् । विभागमा सेकेण्ड क्लासका अधिकृत हुन् । तर, प्रवक्ताको जिम्मेवारी पड्काए । त्यसपछि के चाहियो र ? सिनियर कर्मचारी त के, डिजीलाई समेत गन्न छाडे । 

मिडियासँग सम्वन्धित ‘डिल’ उनै डाक्टर सा’ब गर्छन् । सूचना लिन कोही पत्रकार डिजी भेट्न पुगे बाटोमै रोकिदिन्छन् । भन्छन्, ‘किन चाहियो डिजी ? के हो डिजी ? के चाहियो भन्नुस् ? मैँ हो यहाँको आधिकारिक मान्छे ! मै दिन्छु खोजेको चिज †’ बिकल्प नभेटेपछि पत्रकार उनैकहाँ पुग्ने नै भए । अनि शुरु हुन्छ अन्तर्वार्ता !

पत्रकारको बेलिबिस्तार सुनेपछि दैनिक पत्रिकाका सबै सम्पादकको नाम खर्रर भट्याउँछन् । सबैसँग बाक्लै उठबस रहेको विश्वास दिलाउँछन् । अनि शुरु गर्छन्, पीएचडी हासिल गर्दाको विस्तृत यात्रा । सवै कर्मकाण्ड सकिएपछि बल्ल समाचारको इस्यूमा आउँछन् । पत्रकारले समाचार टिप्यो कि टिपेन ध्यानपूर्वक हेर्छन् । टिपेको छैन भने टिप्न लगाउँछन् । सकिएपछि समाचार लेख्ने ‘एङ्गल’ सिकाउन थाल्छन् । समाचार कोट गर्दा नामको अघिल्तिर डा. नछुटाउन कडा निर्देशन दिन्छन् । सबै हर्कत नियालिरहेका कर्मचारी मुसुमुसु हाँस्दै उडाइरहेको पत्तै हुँदैन । पत्रकारले भोलिपल्ट समाचार छापे/नछापेको एक–एक गरी नियाल्छन् । भनेअनुसार समाचार छापिएन भने फोन गरेर तत्काल थर्काउन थाल्छन् । भन्छन्, ‘तपाईंलाई समाचार लेख्न आउँदैन ? मसँग आउनुस्, सिकाउँछु । तपार्इंले पढेको कति रे ? पत्रकारिता नै पढेको हो कि अरु ? समाचार लेख्ने तरिका यही हो ?’

उनको हर्कतबाट वाक्क भएका एक पत्रकारले त ‘यो कस्तो लठ्ठू प्रवक्ता राखेको’ भनी डिजी रुपनारायण भट्टराईसमक्ष उजुर नै गरेका छन् । उनले यस्तो हर्कत जुनियर कर्मचारी माथिसमेत देखाएका छन् । चिया बनाउने कार्यालय सहयोगीलाई समेत कार्यकक्षमै बोलाएर ‘सर होइन, डा.सा’ब भन्न’ आदेश दिन्छन् । हाकिमलाई समेत गन्दैनन् । भन्छन्, ‘लोकसेवा पास गरेकै भरमा हाकिम भइन्छ ? हैसियत नभएकाहरूलाई पनि नमस्कार ठोक्नुपर्छ यहाँ † सर भन्नुपर्छ † सरकारी कार्यालय खत्तम हुने यस्तैले गर्दा हो । गुदी हुनुप¥यो नि राम्रो हुन त †’ आफूसरहका अधिकृतलाई त मान्छे नै गन्दैनन् । भन्छन्, ‘यिनीहरूसँग दाँजिनै चाहन्न !’

– उमाकान्त चौरसिया

टिप्पणीहरू