​सुन्दरीसँग हराएर फेला पर्छ सत्य ?

५८ हजारवटा उजुरी टुंग्याउन रातदिन काम गर्नुपर्ने आयोग महिनौंसम्म ठप्प हुने, अध्यक्षले अढाई महिनासम्म कार्यालयमा खुट्टा नटेक्ने, कोही आयुक्त कार्यकक्षमै महिला कर्मचारीसँग कोठा बन्द गरेर घण्टौं रमाउने भएपछि पीडितको रगतको जगमा बनेको संस्थाको हालत कस्तो होला ? पछिल्लो समय सत्यनिरुपण तथा मेलमिलाप आयोग परिसरमा द्वन्द्वपीडितका मुद्दाभन्दा बढी चर्चा हुने विषयवस्तु बनेको छ, आयुक्त र महिला कर्मचारीको अन्तरंग सम्बन्ध । 

द्वन्द्वपीडितको हकहितका लागि गठित आयोगमा अध्यक्ष सूर्यकिरण गुरुङ निकम्मा बनिदिँदा श्रीकृष्ण सुवेदीको चुरीफुरी बेग्लै रहेको कर्मचारी सुनाउँछन् । यही कारण उनलाई अध्यक्ष सूर्यकिरणले एक÷दुुई पटक झपारेका पनि हुन् । तर, टेर पुच्छर लगाएनन् । सुवेदीकै चंगुलमा शान्ति सचिवालयसँगै बबरमहलमा टाँसिएको आयोग फसेको मात्र होइन उनीमाथि कार्यालयकै सहयोगी महिला कर्मचारीसँग अत्यधिक लहसिने गरेको आरोप कर्मचारीले लगाउने गरेका छन् । 

यति गम्भीर आरोप लागिरहँदा जनआस्थासँग मंगलबार बिहान प्रकट भएका माओवादी नेता नवराज सुवेदीका भाइ श्रीकृष्णले उल्टै प्रश्न गरे, ‘आयोग परिसरमा यो हल्ला मैले सुनेको थिएँ, हुँदाहुँदा तपाईंको कानसम्म पनि पुगेछ ?’ बहकिँदै सुवेदीले ‘ती महिला कर्मचारी आफ्नी छोरीसरहकी भएको र यस्तो सोच्नु मात्र पनि अपराध भएको’ जवाफ जनआस्थालाई फर्काए । 

‘१८ वर्षदेखि चिनेकी र ससुरालीमा बसेर पढेकी केटी हुन्’, उनले अगाडि थपे, ‘उनी पछाडि आइए पढ्न काठमाडौं आइन् । मेरै घरमा कोठा लिएकी हुन् । पछि म आयुक्त नियुक्त भएँ । सबै आयुक्तले सहयोगी राखेका छन्, मैले पनि दुःख पाएको केटी देखेर ६ महिनाअगाडि  सहयोगी नियुक्त गरेको हँु ।’ उनीसँग सदैव बन्द कोठामा बस्ने गरेको सम्बन्धमा सोद्धा परिवारको मान्छे भएका कारण यस्तो भएको जवाफ फर्काए । सुवेदी र ती कर्मचारीबीच यति धेरै चर्चा–परिचर्चा हुनुको अर्काे पनि कारण छ, फिल्ड भ्रमणमा जाँदा पनि सँगै लाने, कहिले वीरगञ्ज, कहिले सौराहा त कहिले चितवन पु¥याउने । सुवेदी यसबारे भन्छन्, ‘दुःख पाएकी केटी हो, एक÷दुई हजार भत्ता आए पनि उसैलाई होस् भनेर सँगै लगेको हुँ । कुनै पाप सोचेर होइन ।’ 

अर्काे रमाइलो प्रसंग छ आयोगमा । माओवादी कोटाका सुवेदीझैं विभिन्न पार्टीका आयुक्तबीच मतभेद हुँदा यस्तो वातावरणमा म काम गर्न सक्दिनँ भन्दै अध्यक्ष गुरुङ अढाइ महिनासम्म मोबाइल स्वीच अफ गरेर लापत्ता भएका थिए । अस्तिबाट कार्यालयमा झुल्किएका हुन् । हिजो मंगलबार आयोगको बैठक बोलाएका थिए । समयमै काम फत्ते गर्न नसकेपछि आयोगको म्याद वर्ष दिनका लागि थपिएको छ । तर, द्वन्द्वपीडितको समस्या समाधान गर्न स्थापना भएको आयोग भने यस्तै–यस्तै आन्तरिक कलहको दलदलमा जाकिएर जगहँसाइ छ । 

हुनुपर्ने थियो, दुई वर्षभित्र उजुरी छानबिन, पीडितलाई न्याय, क्षतिपूर्ति, राहत–परिपूरण तथा पीडकलाई कारबाहीको सिफारिस, घटनाको सत्य–तथ्यसहितको विवरण सुरक्षित गर्दै द्वन्द्व दोहोरिन नदिने उपायको सुझाव दिने काम । बल्लतल्ल दुई वर्ष लगाएर द्वन्द्वपीडितको उजुरी संकलन त भयो तर म्याद एक वर्ष थपेको साता नबित्दै प्रमुख आयुक्त बेपत्ता रहँदा कामकाज ठप्प रहे । 

त्यहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध फणिन्द्र लुइँटेलले उजुरी दर्ज गराएका छन् । गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरेको आरोपमा प्रधानमन्त्री प्रचण्डमाथि कारबाही माग गर्दै उनले उजुर हालेका हुन् । उसो त प्रधानमन्त्री प्रचण्डविरुद्ध मात्र होइन सेनाले २७ महिनासम्म बेपत्ता पारेको भन्दै माओवादी नेता कृष्ण केसीले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवासम्मलाई पोलेका छन् । 

०७१ माघ २७ गते गठन भएको आयोग भने काम गर्न नसकी आन्तरिक कलहको भुमरीमा फसेको छ । यस्ता उजुरीको चाङ ५८ हजारभन्दा बढी छन् । आयोगका गतिविधि र आयुक्तबीचको आन्तरिक द्वन्द्वका विषयमा बुझ्न आयुक्त मञ्चला झासँग  सम्पर्क प्रयास गर्दा मसँग कुरा गर्ने के कारण प¥यो ?’ भन्दै फोन काटिदिइन् । 

टिप्पणीहरू