राति चुहिएको सनसनीपूर्ण त्यो ‘सूचना’

यताबाट ईश्वर पोखरेल कराउँदैछन्, ‘कि तपाईं गलत हुनुहुन्छ, कि हाम्रा साथी गलत सूचना टिपेर हिँड्या छन् ! म कसलाई पत्याऊँ ?’ एकछिनपछि फेरि सुरेन्द्र पाण्डे त्यसरी नै कड्किन्छन्, ‘कुरा के हो, नढाँटी भन्नुस् त सिडिओ सा’ब !’ यसरी नेताहरू तारन्तार पड्किँदा चितवनका प्रजिअ नारायणप्रसाद भट्ट पसिना–पसिना भइसके । जवाफ दिए, ‘पुलिसले मलाई थाहा नदिई केही गरेको भए जान्दिनँ । तर, मेरो जानकारी भएसम्म त्यस्तो केही भा’छैन हजुर !’

यसपछि खप्की खाने पालो प¥यो, एसपीको । ‘धरोधर्म, मैले त्यसो गरेको भए अहिल्यै मरिजाउँ हजुर !’ एसपी दीपक थापाको यस्तो कुरा सुनेर ईश्वर पोखरेल हाँसे । भने, ‘तपाईं त राम्रै मान्छे भन्ने थियो, फेरि कहाँबाट यस्तो–यस्तो कुरा सुनिन्छ ?’ एसपीले भने, ‘प्रधानमन्त्रीज्यू त्यो होटलमा बस्नुभएको हामीलाई थाहा छ । उहाँलाई त्यहाँ राख्ने, त्यहाँको सुरक्षा व्यवस्था मिलाउने सबै काम आर्मीको कमाण्डमा हुन्छ । हामीले रोडप्रोटेक्सन ड्युटीमात्र गर्ने हो । मैले प्रधानमन्त्रीज्यू आउनुभएको सुनेको मात्र हुँ, देख्या छैन हजुर !’

ईश्वरसँग कुरा गरेर एसपीले फोन राखेका मात्र के थिए, फेरि तुरुन्तै सुरेन्द्र पाण्डे कराउन थाले, ‘तपाईंको त्यो रामप्रवेश यादव भन्ने हवल्दार कहाँ छ ? सब त्यसले गरेको रे †’ एसपीले भने, ‘ए हजुर, यतै सवारी भए हुन्छ, मेरो हवल्दार मैँसँग छ । मैले भेट्न नपाएको प्रधानमन्त्रीज्यूलाई मेरो हवल्दार एक्लै  गएर कसरी भेट्छ होला ?’ अनि, सुरेन्द्रले अन्तिममा भने, ‘त्यसोभए भरतपुर महानगरपालिकाभरिका प्रत्येक बुथमा मतपत्रसहित भरिएका मतपेटिका छन् कि छैनन् भन्ने कुरा तुरुन्त छानबिन गर्नुस् । छन् भने इमान्दारिताका साथ छ भनिदिनुहोला । बाँकी कुरा हामी गर्छौं !’

काठमाडौंबाट २९ गते शनिबार बुद्ध एयरको उडानमा प्रधानमन्त्री पुष्पकमल दाहाल सपरिवार भरतपुर पुगेर त्यहाँको चौबीसकोठीस्थित होटल ग्लोबलमा बसे । सबै आ–आफ्नो प्रचारमा व्यस्त भएको बेला प्रधानमन्त्री ओर्लिनु कुनै ठूलो विषय बनेन । तर, मतदान हुने ३१ गते बिहान ७ बजेदेखि, तर एमाले नेताकहाँ विहान ५ बजेदेखि नै एउटा सूचना पुग्यो । ‘होटल ग्लोबलबाट राति सेनाको घेरामा, सादा पोशाकका प्रहरीसहित पाँचवटा मतपेटिका बाहिरिएका छन् । तिनमा सक्कली मतपत्र टम्म भरिएका छन् । यो काम चितवनका एसपी दीपक थापाको निर्देशनमा, उनका घुमुवा हवल्दार रामप्रवेश यादवको प्रत्यक्ष संलग्नतामा भइरहेको छ ।’

यही सूचना भेरिफाई गर्दा हो, एमाले नेताहरूले पालैपालो सिडिओ र एसपीसँग कुरा गरेको । छोरी नै उम्मेदवार भइसकेपछि उनलाई जिताउने चटारो बुबालाई हुने नै भयो । स्थानीय एमाले नेतृत्वलाई जिप्रकामा कार्यरत एकजना जिम्मेवार अधिकृतले त्यस्तो सूचना दिएका रहेछन् । प्रत्यक्षदर्शीसँग बुझ्दा राति सेनाको गाडी होटलबाट कतै निस्किएको पक्कै हो । गाडीमा केही न केही सामान हालिएकै हो, तर त्यो मतपेटिका नै थियो भन्ने कुरा यकिनसाथ देखिएन । एमाले नेतृत्वलाई प्रत्यक्षदर्शी भन्नेले रिपोर्ट गरे, ‘हुन सक्छ, नहुन पनि सक्छ, तर हो कि होइन भन्ने कुरा कन्फर्मचाहिँ गर्नैपर्छ †’ तर, यो कुरा एमालेको स्थानीय नेतृत्वबाट पत्ता लगाउन सम्भव थिएन । जिल्ला नेताले महासचिवलाई सुनाए । उनले पनि कतै सामाजिक सञ्जालहरूमा यस्ता कुरा देखिसकेका रहेछन् ।

सुरेन्द्र पाण्डे चितवनमै थिए । उनलाई पनि त्यहाँका नेताले भन्ने नै भए । यता ईश्वरले गृहमन्त्री विमलेन्द्र निधीदेखि चितवनका सिडिओ, एसपीहरूसँग कडिकडाउ कुरा गरिहाले । तर, हो भन्ने कुराको पुष्टि कहीँबाट पनि भएन । यसपछि ३१ गते दिनभर यो कुरा सामसुम भयो । तर, मतदान सकिएर मतपेटिका गणनास्थलमा पु¥याएलगत्तै फेरि यस्तै माथापच्ची शुरु भयो । कारण थियो, खैरहनी नगरपालिकामा विहानको सूचनामाथि शंका गर्न सकिने गतिविधि । त्यहाँको वडा नं ९ मा सात सय ६९ मतदातामध्ये ७० प्रतिशतले मात्र मतदान गरे । तर, मतपेटिकामा भेटियो, मतदाताभन्दा धेरै मतपत्र । अर्थात्, सात सय ७५ मतपत्र । थपिएका मतपत्र सजिलै चिनिन्थ्यो, जसमा निर्वाचन अधिकृतले हस्ताक्षर गरेका थिएनन् र कतिपय अर्धकट्टी नच्याती गोलाकारमा स्वस्तिक चिह्न लगाइएको थियो । सर्वदलीय छलफलमा कुरा टुंगियो, मतदान अधिकृतले हस्ताक्षर नगरेका सबै मतपत्र बदर गर्ने । तर, शुरुमा माओवादीले मानेन । जब, भरतपुर महानगरपालिकामा मेयरका लागि रुखमा हालिएका मत आफ्नोमा गन्नुपर्ने अड्डी प्रचण्डपुत्री रेणुले कसिन्, त्यसपछि सामाजिक सञ्जालमा उनका यी भनाइ आलोचनात्मक रुपमा भाइरल बन्यो । यसपछि भरतपुरमा रुखलाई रेणुको मत नमान्ने र खैरहनीमा हस्ताक्षरबिनाका मतपत्र बदर गर्ने सहमति जुट्यो । त्यहाँ एमालेबाट पूर्वसभासद् लालमणि चौधरी प्रमुखका उम्मेदवार छन् । 

सोमबार भरतपुर महानगरपालिकामा मतगणना शुरु भएदेखि एमाले मतगणकहरू एउटै कुरामा पहिलो ध्यान दिइरहेका छन्, मतपेटिका सिलबन्दी भएको÷नभएको वा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भए÷नभएको † भरतपुरको गणना यो पंक्ति लेखिरहँदासम्म आधा पनि पुगेको छैन । तर, अहिलेसम्म त्यहाँ एमालेलाई पुगेको सूचना ट्वाक्कै पुष्टि हुने गरी मतपत्र फेला परेको भने छैन ।

टिप्पणीहरू