सभापति त्यो कुरा सुन्नासाथ सनक्क

रामचन्द्र पौडेलले जसै स्थानीय निर्वाचनमा पार्टी पराजयको कारण खोतल्न थाले, सभापति शेरबहादुर देउवा भुतभुताउँदै कार्यकक्ष छाडेर हिँडे । घटना अघिल्लो बिहीबार बिहानको हो । सानेपास्थित केन्द्रीय कार्यालय, सभापतिको कार्यकक्ष । उपस्थिति थियो, महेश आचार्य, सशांक कोइराला, रामचन्दै पौडेल र सभापति देउवाको ।

कुराकानीकै क्रममा रामचन्द्रले फ्याट्ट सोधे, ‘पहिले हामीले जितेको ठाउँमा दोस्रो भएर एमालेको पछिपछि हिँड्नुपर्ने अवस्था आउनुको कारण के हो ? यही चाल हो भने अर्को चरणमा तेस्रो पोजिसनमा नझरिएला भन्ने के ग्यारेन्टी ? सचेत मतदाताले हामीलाई नराम्ररी तिरस्कार गरेको देखियो । किन यस्तो हुन गयो ?’ रामचन्द्र कराउँदै गए, ‘अदालतले संसद्को अधिकारमाथि हस्तक्षेप गर्नेगरी हामीले के काम ग¥यौं ? त्यस्तो काम किन भयो ? संसद्को मानहानी हामीले हेर्ने हो कि अदालतले ?’ उनी परिणामकेन्द्रित भएर झन् झोक्किए, ‘महानगरहरु सबै एमालेको पोल्टामा किन पुगे ? नवलपरासीको गैंडाकोट र चितवनजस्ता हाम्रो पकट क्षेत्र सबै एमालेको गोजीमा कसरी पुगे ? परम्परागत मतदाता भएका ग्रामीण क्षेत्रमा आफ्नो सामाजिक प्रतिष्ठाकै कारण हाम्रा स्थानीय नेताले मत पाए । त्यो व्यक्तित्वको कारण हो, पार्टीको कारणले होइन । हामी सचेत र शहरका जनताबाट उपेक्षामा प¥यौं । यसको कारण चाहियो ।’ यति सुन्दासुन्दै कुर्सीबाट देउवा जुरुक्क उठे र केही भुतभुताउँदै हिँडे । कतै एकछिन गएका होलान् भनेर अरु त्यहीं बसिरहे तर उनी फर्किएनन् । 

उता माओवादी हेडक्वार्टरको अस्ति सोमबार बिहान बसेको चुनावी समीक्षा बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले भने, ‘मान्छेहरुले माओवादी पाँचौं वा छैटौं पार्टी बन्छ भन्थे तर तेस्रोसम्म भइयो । त्यसैले आत्तिनुपर्ने छैन ।’ त्यहाँ पार्टी एकतापछि पनि सुदृढ बनिनसकेको, कमिटीहरु बन्न समय लागेको जस्ता कारणहरुलाई चुनावी परिणामसँग जोडियो । बैठकले प्रचार–प्रसारमा कमी भएको र व्यवस्थापन कमजोर भएको निष्कर्ष पनि निकाल्यो । पहिलो चरणमा भोट माग्दा राष्ट्रियस्तरका नारालाई प्राथमिकता दिनाले स्थानीय विषय र जनताका मन जित्ने कुरामा ध्यान नपुगेको पनि सबैले स्वीकार गरे । अहिलेसम्म संविधान संशोधनमा एमाले सकारात्मक नभएकाले त्यो पास हुने अवस्था नरहेको र स्थानीय तहको संख्या थपेर भए पनि मधेसी दलहरुलाई चुनावमा सहभागी हुने वातावरण सिर्जना गर्ने विषयमा चर्चा चल्यो ।

संविधान संशोधनचाहिँ अर्को चुनावपछि बहुमतले गर्नुपर्छ भन्दै प्रचण्डले योजना राखे । तालमेल माथिबाट गर्दा थोपरेजस्तो भएकाले तलसम्म त्यसले काम गरेन भन्दै अर्को चरणमा तलैबाट माग भएबमोजिम तालमेल गर्ने निष्कर्षमा माओवादीहरु पुगेको बैठकमा सहभागी स्रोतले बताएको छ । 

टिप्पणीहरू