अनि, रेणुले देखाएरै भनिन्

नेपालको चुनाव न हो, जित्दासम्म सबै ठीक, हारेपछि ‘यो पनि बेठीक, त्यो पनि बेठीक !’ भरतपुर महानगर प्रमुखमा प्रम पुष्पकमलपुत्री रेणुले हारिसकेकी छैनन् तर स–साना कुरालाई लिएर भित्रभित्रै समस्या भने सुरु भइसकेका छन् । 

अहिले दाहाल परिवारभित्र लफडा चलेको छ, नारायण दाहालको भूमिकालाई लिएर । पहिला रेणुलाई काठमाडौंबाट भरतपुर लैजाने र महानगर प्रमुख उठाउने कुरा नारायणले नै चलाएका हुन् । काठमाडौंको क्षेत्र नंं. १ लाई आधार बनाएर पार्टी काम गरिरहेकी रेणुलाई उता लैजाने कुरा भएपछि त्यही क्षेत्रमा काम गर्ने झक्कुप्रसाद सुवेदीहरूले हत्तपत्त रेणुको पार्टी जिम्मेवारी चितवन जिल्लामा सारिएको पत्र तयार पारे । यसपछि रेणुले नमान्ने कुरै थिएन । जब रेणु भरतपुर जान राजी भइन् र भावी मेयरकी प्रत्याशीका रूपमा उनी प्रचारित हुन थालिन्, त्यसपछि नारायण लोभिए । उनले ‘आफैँ उठ्छु’ सम्म भने । रेणुले ‘त्यसोभए अब म उठ्दिनँ । सबैतिर हल्ला भएपछि आफैँ उठ्छु भन्ने ?’ भन्दै गुनासो गरिन् । तर, प्रम पुष्पकमलले भरतपुर पार्टी एक्लैले नजित्ने, कांग्रेससँग सहकार्य गर्नुपर्ने र सहकार्यका निम्ति नारायणलाई भन्दा रेणुलाई अगाडि सार्दा सहज हुने बताएपछि नारायण आकांक्षीका रूपमा पछि हटे । 

हिजोआज बालुवाटारमा कुरा चल्न थालेको छ कि, नारायण दाहालको भूमिका पहिलादेखि नै राम्रो थिएन । उनीहरू १३ दिने दाजुभाइ हैनन् । मर्दापर्दा जुठोसम्म लाग्दैन । दाहाल–दाहाल मात्र हुन्, घरसम्म चितवनको शिवनगर हो, पहाड पनि कास्की, ढिकुरपोखरी । तर, नाता पर्ने हैनन् । तर, नारायण आफूलाई पुष्पकमलका सहोदर भाइ भन्ने गर्छन् । उनका आफ्नै भाइ त गंगा दाहाल हुन्, विदेशमा छन् । बाको नाम भजाएको भनेर रेणु, प्रकाशहरू अहिलेसम्म फायर छन् । अहिले उनीहरू नारायणसँग फायर हुनुको कारण बनेका छन्, चितवनका एसपी दीपक थापा । उनलाई ‘हाम्रो मान्छे’ भन्दै चितवन लगेका नारायणले । शक्ति बस्नेत गृहमन्त्री हुँदैमा लैजान खोजेका थिए ।

तर, शक्तिले मानेनन् । विमलेन्द्र निधी गृहमन्त्री हुनासाथ लगे । बालुवाटारको बुझाइअनुसार ‘अहिले दीपक थापाले एमाले नै भएर बोल्यो’ भन्ने छ । ‘माओवादीले बाँदरझैँ उफ्रिएर मतपत्र च्याते’ भनेको कुरा केपी ओलीको लवजसँग ठ्याक्कै मिल्छ भन्दै अस्ति पनि बालुवाटारमा चर्चा भइरहेको थियो । रेणुले नारायणलाई सोधिन्, ‘तपाईंले ल्याएको मान्छे यस्तै हुन्छ ?’ नारायणले ‘जोगिनलाई बोलेको होला’ भने । रेणुले भिडियो क्लिप्स नै खोलेर देखाइदिइन् । अनि, नारायणले ‘केही बाध्यता थियो होला, मान्छे त हाम्रै हुन्’ भने । जबकि, ०६४ मा प्रचण्ड नेतृत्वको सरकार हुँदा यिनै दीपक थापा गृहमन्त्री वामदेव गौतमको विश्वासपात्रका रूपमा प्रहरी प्रधान कार्यालयको सबभन्दा महŒवपूर्ण मानिने कर्मचारी प्रशासन शाखामा ल्याइएका थिए । त्यसबेला उनी खोटाङका डिएसपीबाट सोझै हेडक्वार्टर ल्याइएका थिए । उनी भक्तपुर, गुण्डुका बासिन्दा हुन् । अहिले बालुवाटारमा चर्चा छ, ‘नारायणले पैसा खाएर लगेको हुनाले एसपीले टेरेन ।’

नारायण दाहाल यसअघि पनि टेडिएर हिँडेका थिए । उनी चीनको राजदूत हुने दौडधूपमा थिए । तर, पूर्वमुख्यसचिव लीलामणि पौडेल चीनको राजदूत भएपछि पार्टी छाड्छु भन्दै चितवन गए । त्यसबेला उनलाई रेणुले नै फकाएर ल्याएकी हुन् । ‘दाजुभाइ’ भनेर बाको नाम भजाए पनि बाको पछि लागेर दुःख पाएको मान्छे भन्दै रेणुकै जोडबलमा उनलाई प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकार बनाइएको हो । तर, आज भरतपुर महानगरको चुनाव लड्दा नारायणबाट धोका भयो भन्ने बुझाइमा छन्, रेणुहरू । धोकाको मतलब, आज्ञाकारी भनिएका एसपी एमालेको बोली बोल्ने, निर्वाचनमा खटिएका कर्मचारीजति सबै एमालेसम्बद्ध संगठनका सदस्य हुने र यस्तो हुँदा पनि नारायणले मतदान भएको दिनसम्म सब ठीक छ भन्दै मख्ख पारेर अन्तिममा धोका दिए । 

टिप्पणीहरू