विमलेन्द्र निधिको छुट्टै कार्यालय,काँग्रेस मुख्यालयमा सँधै धर्ना

विमलेन्द्र निधिको छुट्टै कार्यालय,काँग्रेस मुख्यालयमा सँधै धर्ना

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आजदेखि आफ्नो छुट्टै सम्पर्क कार्यालय खोल्ने भएका छन् । आगामी १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गरेका निधिले नयाँ कार्यालय खोलेका हुन् । आजदेखि आरम्भ हुने नयाँ कार्यालयको उपलक्ष्यमा निधिले दिउँसो साढे १२ बजे बानेश्वर थापागाउँको बानेश्वर ब्याङ्क्वेटमा कार्यक्रम नै राखेका छन् ।

उता नेपाली काँग्रेसको सानेपास्थित मुख्यालय डेढ महिनादेखि लगभग बन्दको अवस्थामा छ । मुख्य गेट बाहिर विभिन्न जिल्लामा भएको क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध धर्ना र अनशन जारी छ । उक्त कार्यक्रम आज पनि ९ बजेदेखि शुरु भएको छ ।

नेपाल टेलिकम र नेपाल वायुसेवा निगमका कर्मचारी युनियनहरुले सञ्चालन गर्दै आएको धर्ना र बिरोध कार्यक्रम आज पनि हुने भएको छ । दुबै संस्थाको मूल गेटमा उनीहरुले दुई घण्टा धर्ना कार्यक्रम राखेका छन् ।

उता संसदमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ ।

प्रदेश नम्बर २ का प्रमुखले पृथ्वीनारायण शाहप्रति अनादर गरेको भन्दै नेपालका लागि नेपाली पार्टीले माइतीघर मण्डलामा बिरोध गर्ने जनाएको छ । कार्यक्रम दिउँसो १ बजे हुने जानकारी दिइएको छ ।

उता,अखिल नेपाल महिला संघ, महालक्ष्मी नगर कमिटी ललितपुरले वडा नं. ५ कमिटी गठन गर्ने भएको छ । कालिञ्चोक पार्टी प्यालेस,टिकाथलीमा दिउँसो साढे १ बजे कार्यक्रम हुने छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले आज उसको कार्यालयमा झण्डोत्तोलन गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरबाट हुने उक्त कार्यक्रम केन्द्रीय कार्यालय, बबरमहलमा दिउँसो साढे २ बजे हुने छ ।

आजै दिउँसो साढे २ बजेको भेलामार्फत राष्ट्रवादी नागरिक समाजले हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै भदौ २८ गते जनप्रदर्शन गर्ने जनाएको छ । त्यसको लागि आज उसले गोदावरीको टौखेल चोकमा प्रचारसभा गर्ने भएको छ ।

आज पनि विभिन्न संघ, संस्था र विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय, नेपाल ल क्याम्पसको डिनको कार्यालय, त्रिभुवन विश्वविद्यालको स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजक शुक्रराज अधिकारीको कार्यकक्ष र प्रशासनमा गरेको तालाबन्दी जारी राख्ने भएका छन् ।

त्यसैगरी कालिमाटीस्थित काठमाडौं इञ्जिनियरिङ क्याम्पस, त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेण्टका निर्देशक प्रा.डा. पुष्कर शर्माको कार्यकक्ष र ललितपुरको क्याथफोर्ड कलेजमा विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी आज पनि नखुल्ने बताइएको छ ।

 

 

टिप्पणीहरू