काँग्रेसी : कोही घरमा, कोही पार्टी कार्यालयको छिँडीमा

काँग्रेसी : कोही घरमा, कोही पार्टी कार्यालयको छिँडीमा

नेपाली काँग्रेस पार्टी कार्यालय, सानेपामा महिनौंदेखि धर्ना र अनसन जारी छ । विशेषगरी तराईका रौतहट र धनुषामा भएको क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्ध उनीहरुले धर्ना गर्दै आएका हुन् । केही दिनदेखि काभ्रेपलाञ्चोक, नुवाकोट, धादिंग, चितवन र अर्घाखाँचीलगायतका जिल्ला सभापतिहरुले पनि रिले अनसन गर्दै आएका थिए ।

ती जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने सहमतिपछी हिजो साँझ जिल्ला सभापतिहरुले अनसन फिर्ता लिएको बताइएको छ । तर, नेपाली काँग्रेस रौतहटले भने आज पनि आफ्नो धर्ना कार्यक्रम जारी राखेको छ । उनीहरुले सँधैझैँ आज बिहान ९ बजेदेखि धर्ना सुरु गरेका हुन् ।

राजधानीमा आज हुने विभिन्न कार्यक्रममध्ये अखिल (क्रान्तिकारी) महेन्द्र रत्न क्याम्पस समितिले ९ औं क्याम्पस सम्मेलन बिहान ९ बजेबाट क्याम्पस हाता ताहाचलमा सुरु गरेको छ ।

नेपाल टेलिकम र नेपाल वायुसेवा निगममा आज पनि त्यहाँका कर्मचारी युनियनहरुले धर्ना र विरोध कार्यक्रम गरेका छन् । टेलिकममा १० बजेदेखि र निगममा साढे १० बजेबाट आजको बिरोध कार्यक्रम सुरु भएको हो ।

उता, काठमाडौंका कागेश्वरी मनोहरा, शंकरापुर र गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्ने भनिएको व्यवस्थित शहरबारे राप्रपाले सुझाव सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । राप्रपाले तीन वटै नगरपालिकामा बिहान ११ बजे ज्ञापनपत्र बुझाउन लागेको हो ।

आज संसदका दिगो विकास तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्ने भएको छ । ती बैठक क्रमशः बिहान ११ बजे र साढे ११ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ ।

आजै नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ । कार्यक्रम रिपोर्टस क्लबको हलमा हुने जानकारी दिइएको छ ।

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाईसीएल नेपालको राष्ट्रिय भेलाको बन्दसत्र आज सातवटै प्रदेशमा हुँदैछ । जुमबाट भएको राष्ट्रिय भेलाको काठमाडौंको बन्द सत्र होटल आनन्द, तिलगंगामा हुने जनाइएको छ ।

सँधै विद्यार्थीले गर्दै आएको तालाबन्दी कार्यक्रम अव प्राध्यापकले समेत सुरु गरेका छन् । आफ्नो माग पूरा नगरेको भन्दै समाजवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यलयमा गत बुधबारदेखि गरेको तालाबन्दी आज पनि नखुल्ने जनाएको छ ।

टिप्पणीहरू