४० दिनपछि के के कुरा मिल्यो टेलिकममा ?

४० दिनपछि के के कुरा मिल्यो टेलिकममा ?

नेपाल टेलिकमका कर्मचारीहरुले ४० दिन लामो आन्दोलन स्थगित गरेका छन् । टेलिकम व्यवस्थापन र कर्मचारी ट्रेड युनियनबीच आइतबार २९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

ट्रेड युनियनका तर्फबाट टेलिकम वर्कर्स युनियन,नेपाल टेलिकम कर्मचारी युनियन र एनटिइएनएन ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले विनियमावली संशोधनको माग राखेका थिए । कर्मचारी युनियनले अघि सारेको माग सम्बोधन गर्न व्यवस्थापन तयार भएपछि ४० दिन लामो आन्दोलन रोकिएको हो ।

कर्मचारी र व्यवस्थापनबीच ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाशको व्यवस्था कायम गर्ने सहमति जुटेको छ । यो व्यवस्था कायम गर्नका लागि ‘कर्मचारी विनियमावली, २०७८’ संशोधन गर्न लोकसेवा आयोगलाई लेखी पठाउन दुई पक्षबीच सहमति भएको छ ।

त्यस्तै,विनियमावली संशोधन गरेर मन्त्रिपरिषद्को निर्णयबाट कम्पनीको कुनै कर्मचारी प्रवन्ध निर्देशक पदमा नियुक्त भएमा नियुक्ति लिएको मितिदेखि सेवाबाट स्वत: अवकाश हुने व्यवस्था कायम गर्न दुईपक्षीय समझदारी बनेको छ । सहमतिअनुसार टेलिकमका बहालवाला स्थायी कर्मचारीलाई खुला प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुन उमेरको हद नलाग्ने व्यवस्था गर्न विनियमावली संशोधन गरिने भएको छ ।

एक तह मुनिको पदमा तीन वर्ष स्थायी सेवा अवधि पूरा गरेको कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था कायम गर्न कर्मचारी युनियनको माग पूरा गर्न टेलिकम व्यवस्थापन सहमत भएको छ ।

टिप्पणीहरू