सप्तकोशीमा यो वर्षकै सबैभन्दा धेरै पानी

सप्तकोशीमा यो वर्षकै सबैभन्दा धेरै पानी

सप्तकोशी नदीमा आज यो वर्षकै सबैभन्दा धेरै पानी बगेको छ । केही दिनयताको निरन्तरको वर्षाले नदीको बहाव आज वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटै ढोका खोलिएका छन् ।

यसअघि साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको थियो ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीले श्रीलंका टापु क्षेत्रमा कटान थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेपछि प्रजिअसहितको टोली आज कोशी क्षेत्रको निरीक्षणमा निस्केको हो ।

टिप्पणीहरू