भोलि फेरि नयाँ पार्टी जन्मने,राजावादीहरु बाहिरै
काँग्रेस-एमालेजस्ता संसदका ठूला राजनीतिक दलभित्र संघीयता र धर्मनिरपेक्षताको बहस शुरु भएका बेला प्रदेशको खारेजी र हिन्दू राष्ट्रको एजेण्डा लिएर नयाँ राजनीतिक दल जन्मिने भएको छ । पुराना पत्रकार देवप्रकाश त्रिपाठीले भोलि बिहान ८ बजेको शुभसाइत पारेर नयाँँ पार्टी घोषणा गर्न लागेका हुन् ।
गैह्रिधारास्थित एलिस रिसेप्सनमा एक कार्यक्रमको आयोजना गरी त्रिपाठीसहित केही पार्टी र व्यक्तिले एकीकृत शक्ति नेपाल नामक पार्टी घोषणा गर्न लागेका हुन् । भोलि नै उक्त दलको घोषणा पत्र जारी हुने बताइएको छ ।
भविश्यमा देशभक्त, राष्ट्रवादीहरुको बलियो पार्टी बन्ने गरी हाललाई मोर्चा घोषणा गर्न लागिएको त्रिपाठीले जानकारी दिए । मोर्चामा विभिन्न पार्टी र व्यक्तिहरु आवद्ध रहेको उनले बताए । उनका अनुसार डा. विपिन अधिकारी,डा. रामप्रसाद उप्रेती, अभिनेता निखिल उप्रेती,पर्यटन ब्यवसायी श्याम पाण्डे,शम्भुमान सिंह,जयाकुमारी शर्मालगायतको मोर्चमा सहभागिता रहने छ ।
जसले भएका राजालाई जोगाउन सकेनन् उनैले राजा फर्काउने गफको कुनै तुक नहुने यो पार्टीको ठहर छ ।
आगामी निर्वाचनमा भाग लिने तयारीका साथ केही महिनापछि मोर्चासँग आवद्ध समूह राजनीतिक पार्टीमा रुपान्तरण हुने पनि बताइएको छ । राजनीतिक दलको हैसियत पाएपछि देशव्यापी संगठन बनाउने मोर्चाको तयारी छ । मोर्चाले हिन्दू राष्ट्र र प्रदेश खारेजीको मुध्दालाई सशक्त रुपमा उठाउने दाबी पनि गरिएको छ । जातीय आरक्षण र समानुपातिक निर्वाचन प्रणालीले जातीय विभाजन बढाउने भन्दै मोर्चाले समानुपातिक-समावेशिताको मुद्धा जनताका वीचमा छलफलमा लैजाने जनाइएको छ ।

भोलि पार्टी घोषणा गर्ने र छिट्टै निर्वाचन आयोगमा आधिकारिक रुपमा दल दर्ता गर्ने त्रिपाठीले बताएका छन् । यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टीलाई पुनर्गठन गरेर नाम फेर्ने तयारी भैरहेको उनले जानकारी दिए । पार्टीको चुनाव चिन्ह त्रिशुल प्रस्ताव गर्ने तयारी छ । पार्टी गठनलगत्तै भोलि नै भद्रकाली मन्दिर पुगेर बिशेष शपथ खाने तयारी छ ।
जसले भएका राजालाई जोगाउन सकेनन् उनैले राजा फर्काउने गफको कुनै तुक नहुने यो पार्टीको ठहर छ । त्यसैले राष्ट्रवादी शक्ति भनिएको मोर्चामा राजावादी भनेर चिनिएका सामाजिक अभियन्ताहरुलाई समेटिएको छैन । सिध्दान्तमा प्रष्ट नभएका मान्छेलाई मोर्चामा संलग्न नगराइएको मोर्चामा आवद्ध अर्का एक नेताले बताए । ‘राजनीति सिध्दान्तमा आधारित हुन्छ, माइतीघरमा उफ्रेरमात्र परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्नेहरु हाम्रो मोर्चामा अटाउन सक्दैनन्’,उनले भने ।
‘राजावादी वकिल’ भनेर चिनिएका अधिवक्ता बालकृष्ण न्यौपाने,सुरेन्द्र भण्डारी,स्वागत नेपालहरुको ‘नेपालका लागि नेपाली अभियान’लाई पनि त्रिपाठीहरुको मोर्चामा आवद्ध गरिएको छैन । मधेश टुक्र्याउने अभिव्यक्ति दिने सीके राउतको पक्षमा वकालत गरेकाले अधिवक्ता भण्डारीलाई मोर्चामा आवद्ध नगरिएको बताइएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगमा दल दर्ताको क्रम बढेको छ । गत साता मात्रै माधव नेपाल र महन्थ ठाकुरले पार्टेसमा बिद्रोह गरी छुट्टै दल दर्ता गरेका थिए । नेपाल र ठाकुरले नयाँँ दल दर्ता गरेको एक साता नबित्दै भोलि अर्को पार्टी जन्मिन लागेको हो ।
टिप्पणीहरू