एमसीसी र बिआरआइबारे पार्टीको धारणा खोज्दै एमाले नेता

एमसीसी र बिआरआइबारे पार्टीको धारणा खोज्दै एमाले नेता

प्रमुख प्रतिपक्ष नेकपा एमालेको विदेश विभागका नेताहरुले बहुप्रतिक्षित बिआरआई र विवादित एमसीसी सम्झौताबारे पार्टीको धारणा खोजेका छन् । हालै बसेको विभागको बैठकमा सहभागी केही नेताले राष्ट्रियता र विदेश सम्बन्धसँग प्रत्यक्ष गाँसिएका बिआरआई र एमसीसी सम्झौताबारे राष्ट्रिय सहमति जुटाउन पार्टीको भूमिका खोजेका हुन् ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार बिआरआई परियोजना अगाडि नबढेकोबारे विभागका ईञ्चार्ज डा. राजन भट्टराईलाई नेताहरुले प्रश्न सोधेका थिए । बिआरआई परियोजना अगाडि नबढ्दा चीनसंगको सम्बन्धलाई लिएर विभिन्न टिप्पणी हुने गरेको भन्दै बैठकमा जिज्ञासा उठेको बताइन्छ ।

बिआरआइ सम्झौताको स्वामित्व ग्रहण गरेर परियोजना कार्यान्वयन गराउन नेपालको तर्फबाट भैरहेका पहलबारे जिज्ञासा उठेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकारसमेत रहेका भट्टराईले प्रष्ट पार्ने प्रयास गरेका थिए । पछिल्लो दुई वर्ष नेपालले धेरै प्रयास गर्दा पनि चिनियाँ पक्षले इन्ट्रेष्ट नदेखाएका कारण परियोजना शुरु हुन नसकेको उनले बताए ।

‘बिआरआई हामी आफैंले गरेको ऐतिहासिक सम्झौता हो । हाम्रो अध्यक्ष प्रधानमन्त्री भएको बेला गरिएको सम्झौताको हामीले स्वामित्व लिनुपर्छ । तर,पछिल्लो दुई वर्ष हामीले धेरै कोशिस गर्दा पनि चाइनिजहरुको आफ्नै प्राथमिकता पर्यो होला त्यसैले राम्रो रेस्पोन्स भएन’,बैठकमा भट्टराईको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

यसबीच नेपाल र चीन सरकारबीच सौहार्द्रपूर्ण सम्बन्ध रहेको र पार्टी अध्यक्ष केपी ओलीले चिनियाँ नेताहरुसँग निरन्तर कुराकानी गरिरहेको भट्टराईले बैठकमा भनेका थिए । उनले थप प्रष्ट्याउँदै भनेका थिए, ‘हाम्रो पार्टी र चाइनाको राम्रो सम्बन्ध छ । अध्यक्षसँग फ्रिक्वेन्ट्ली कुराकानी पनि भैरहेको छ । सम्भवत: उहाँहरुको प्राथमिकता परेन कि !’,

बैठकमा एमसीसी सम्झौतामा पार्टीको धारणालाई लिएर पनि प्रश्न उठेको बताइन्छ । अधिकांश नेताले एमसीसी सम्झौता नेपालको परराष्ट्र नीतिसँग प्रत्यक्ष जोडिएकाले साझा राष्ट्रिय धारणा बनाउनुपर्नेमा जोड दिएका थिए । एमसीसीबारे सबै राजनीतिक दलको समान धारणा बनाउन पार्टीको तर्फबाट पहल गरिनुपर्नेमा नेताहरुले भटराईको ध्यानाकर्षण पनि गराएको बताइन्छ।

राष्ट्रियता र विदेश सम्बन्धका सवालमा मुलुकको साझा स्वार्थमा सबै राजनीतिक दल एकै ठाउँ उभिनुपर्छ भन्नेबारे छलफल भएको सहभागी नेताले बताए ।

टिप्पणीहरू