हिँडिरहेका अध्यक्षको कठालो समातियो,दुर्ब्यवहार गर्ने कुलेलम

हिँडिरहेका अध्यक्षको कठालो समातियो,दुर्ब्यवहार गर्ने कुलेलम

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई हिलाम्मे सडकमा हिँडिरहेका बखत स्थानीयले कठालो समातेका छन् । उनको कठालो समातिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । नगरवासीसँग झुटो बोलेको भन्दै स्थानीयले कठालो समातेको बताइएको छ ।

१९ सेकेण्डको कठालो समातिएको भिडियोमा स्थानीयले, ‘तपाईंले एकदम झुटो बोल्नुभयो, जनतालाई कहिलेसम्म भेडा बनाउनुहुन्छ ?’ भन्दै आक्रोश पोखेको देखिन्छ । जवाफमा आफुले झुटो बोलेको स्वीकार्दै मेयर श्रेष्ठले, ‘भयो माफ पाऊँ’ भनेको पनि प्रष्टसँग देख्न र सुन्न सकिन्छ ।

घटनाको पृष्ठभूमि बताउँदै एक जना स्थानीयले भनेका छन्, ‘केही दिनअघि गाउँपालिकाका एक जना बिरामी परे । बिरामी लिन गएको एम्बुलेन्स बर्खाले हिलाम्य बनाएको सडकबाट जान सकेन । त्यहि सडकको अवस्थालाई लिएर विवाद भएको हो ।’

बिरामी लिन गएको एम्बुलेन्स हिलोमा भासिएपछि बाटो बनाउन डोजर माग गर्दा पठाइदिन्छु भनेका अध्यक्षले डोजर नपठाइदिएपछि गाउँले रिसले आगो भएका हुन् । उनले टेलिफोनमा आफू गाउँमै भएर पनि चरिकोटमा छु भनेर ढाँटेपछि स्थानीयले सडकमै कठालो समातेर ‘किन झुटो बोलेको ?’ भनी हायलकायल बनाएको बताइन्छ ।

स्थानीयले आफूहरुले भोट दिएर जिताएका जनप्रतिनिधिले जनताको पीर मर्का नबुझेको भन्दै कठालो समातेर भिडियो बनाएको स्रोतको दाबी छ । स्रोतका अनुसार नेकपा एमालेबाट निर्वाचित मेयरलाई दुर्ब्यवहार गर्नेहरुविरुद्ध उजुर हालिएको छ । तर प्रहरीले उक्त घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्रेको छैन ।

टिप्पणीहरू