भारत र मृतकलाई दोषी देखाउँदै छानबिन समिति उम्कियो

भारत र मृतकलाई दोषी देखाउँदै छानबिन समिति उम्कियो

दार्चुलाको ब्यास गाउँपालिका-२ मा गत महिना भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा काटेपछि महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको दोष देखाएको छ । साथै थप अनुसन्धान गरेर दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने भनेको छ ।

समितिले उक्त घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नता रहेको देखिएकाले अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिश गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘पीडित परिवारलाई राहत उपलब्ध गराउन,भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न र धामीको परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’

उक्त घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

यस्तै तनहुँ घर भई नवलपरासीको बर्दघाटमा कार्यरत ४३ वर्षीय प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटना सम्बन्धमा गठित छानबिन समितिले उल्टै मृतक वाग्लेलाई दोषी करार गरेको छ ।

गृह मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छानबिन समितिले उक्त घटनामा मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक कपिल वाग्ले दुबैको असावधानी देखिएको निष्कर्ष निकालेको छ ।

टिप्पणीहरू