माताको नाममा ठडिएका महल

माताको नाममा ठडिएका महल

मानिस जन्मिएर थोरै अवधिको लागि बाँच्छ । तर उसले सेवासुविधाचाहिँ बढी खोज्छ । पैसा कमाउने सोचमा पर्दापर्दै खान बिर्सिन्छ । दौडधुप र सन्तुलित आहारको अभावमा रोगी बन्छ ।

यसकारण नेपालमा प्रत्येक दिन विभिन्न रोग लागेका बिरामीको संख्या बढिरहेको छ । सरकारी अस्पतालको बेहाल छ । उपचारको सट्टा झन रोग फैलिने डर छ । बेडको अभाव, डाक्टर–नर्सको अभाव, डाक्टर–नर्सको भभद्र व्यवहार उस्तै छ । सरकारी अस्पतालमा राम्रो सेवा नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् ।

महँगो निजी अस्पतालको विकल्प भनेका वैद्य र आयुर्वेदिक औषधि हुन् । अहिले त वैद्यको अस्पतालमा पनि मानिसको भीड छ । तर, के यी आयुर्वेदिक औषधालयले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएका छन् ? के यिनले स्वास्थ्य मापदण्ड पूरा गरेका छन् ? यी औषधालयमा बिरामीले चेकजाँच गरेबापत तिर्नुपरेको शुल्क महँगो हो कि सस्तो ! के यसबारे स्वास्थ्य मन्त्रालयले कहिल्यै अध्ययन गरेको छ ?

औषधालयले लिएको बेड चार्ज सरकारले तोकेको हो ? उपचार र औषधिको रकम सरकारले निर्धारण गरेको हो ? विभिन्न मान्छेलाई मिडियामा ल्याएर विज्ञापन गरेका छन् । निःशुल्क उपचार गर्ने भनेर विज्ञापन फुकेका छन् । तर, निःशुल्क उपचार कसैले पाएका छैनन् ।

यसरी स्वास्थ्यको नाममा प्रचारबाजी गर्न मिल्छ ? आयुर्वेदमा बनेको औषधि म्याद गुज्रिएका, हानिकारक भए कसले अनुगमन गर्ने ? कुन रोगमा कुन जडीबुटी प्रयोग हुन्छ भन्ने ज्ञान कसलाई ?

यिनीहरूको दर्ता, वडा र महानगरपालिकामा पनि छैन । रोग एकथरी लागेको हुन्छ । कतिपयले भूतप्रेत लागेको हो भनी फुकफाक गर्छन् । तपाईंको श्रीमान्–श्रीमती अर्कोसँग लागेको छ भनेर घरझगडा गराउँछन् । घरमा विवाद उत्पन्न गर्नेमा माताहरूको पनि ठूलो हात छ ।

अरुको घर बिगार्ने काम हो माताको ? एउटा हात हेरेको पनि मनलाग्दी पैसा उठाउने ? बोक्सीको आरोपमा कति महिलाले सामाजिक अपहेलना व्यहोरेका छन् । कतिलाई मलमूत्र खुवाएका छन् । कतिलाई कुटपिट गरेका छन् । कति महिलालाई गाउँ छाडेर हिँड्न बाध्य बनाएका छन् । माताको नाममा व्यापार गरेर कतिले कत्रो घर बनाएका छन् । यसको लेखाजोखा गर्ने कसले ?

– अनुसा थापा

टिप्पणीहरू