प्रदेश नम्बर २ मा खुम्चियो एमाले, सुदूरपश्चिममा माधव सशक्त

प्रदेश नम्बर २ मा खुम्चियो एमाले, सुदूरपश्चिममा माधव सशक्त

नेकपा एमाले चोइटिएसँगै बनेको नेकपा एकीकृत समाजवादी अस्तित्वमा आएपछि दुबै दलले प्रदेश सांसदहरुलाई आ-आफ्नो दलमा जोड्ने प्रयत्न अन्तिम अवस्थामा पुगेको छ । प्रदेश सांसदहरुले आगामी २२ गतेसम्म दल रोज्न सके पनि जोडिने र छुट्टिने क्रम सकिएको दुबै दलका नेताहरुले अनौपचारिक रुपमा स्वीकार गरिसकेका छन् ।

हालसम्मको तथ्याङ्कमा प्रदेश २ का बहुमत प्रदेश सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (समाजवादी) रोजेका छन् भने गण्डकीमा उक्त पार्टीले खाता खोल्न सकेको छैन । प्रदेश २ मा एमालेका १९ सांसदमध्ये १३ जनाले नेकपा (समाजवादी) रोजेका छन् । योसँगै प्रदेश २ मा एमाले ६ सांसदमा खुम्चिएको छ ।

प्रदेश २ का सांसदहरु गोविन्द न्यौपाने,मञ्जुकुमारी यादव,बेची लुङ्गेली,अशोक यादव,सीता गुरुङ्ग,मदनसिंह श्रीवास्तव, प्रमोदकुमार यादव,रवीन्द्र बैठा, सुन्दर विश्वकर्मा,शत्रुध्न महतो र डिल्ली उप्रेतीले एमाले परित्याग गरी नेकपा (समाजवादी) रोजेका छन् ।

बागमती र प्रदेश १ सरकार जोखिममा

बागमती र प्रदेश १ मा मर्ने बेलामा हरियो काँक्रो भनेझैं बल्ल बल्ल पाएको मुख्यमन्त्री पद मधुमास पनि नमनाउँदै छाड्नु पर्ने जोखिम बढेको छ । हाल प्रदेश १ र बागमतीमा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन् ।

तर, एमाले विभाजनसँगै दुवैको सत्ता संकटमा पुगेको छ । एमालेका ५१ सांसद रहेको प्रदेश १ मा १० सांसदले छाडेसँगै ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग रहेको ४१ जनाको संख्या बहुमतका लागि अपर्याप्त भएको छ । बागमतीमा पनि १२ सांसदले नेकपा (समाजवादी) रोजेका छन् । १ सय ९ सदस्यीय प्रदेशसभामा ५६ सांसदसहित बहुमत अवस्थामा रहेको एमाले ४४ सिटमा खुम्चिएको छ । योसँगै शाक्य नेतृत्वको सरकार पनि टिक्न मुश्किल देखिन्छ ।

कर्णालीमा नेकपा (समाजवादी) कमजोर

कर्णालीमा तीन जना प्रदेशसभा सदस्यले मात्रै एमाले छाडेका छन् । मुगुका चन्द्रबहादुर शाही,जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एमाले छाडेका छन् । कर्णालीमा १६ सांसद रहेको एमालेबाट तीन सांसदले छाडेसँगै १३ सांसदमा सीमित भएको छ । विभाजनका बाबजुद कर्णालीमा एमाले पहिलो शक्तिको रुपमा नै रहेको छ तर सत्ताबाट भने बाहिर ।

लुम्बिनीमा एक,गण्डकीमा शून्य

लुम्बिनीमा एमालेकी एक प्रदेशसभा सदस्यले मात्रै नेकपा (समाजवादी) रोजेकी छन् । समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी पाल्पाकी रमा घर्ती मगरले एमाले छाडेकी हुन् । मगरले एमाले छोडेसँगै अब एमाले ३७ सदस्यमा सीमित भएको छ । यसका बाबजुद लुम्बिनीमा एमाले पहिलो दल हो त्यो पनि सत्ता बाहिर ।

यता गण्डकीमा भने हालसम्म नेकपा (समाजवादी) मा कुनै पनि सांसद खुलेका छैनन् । पार्टी विभाजनअघि माधव पक्षमा देखिएका सांसद इन्द्रलाल सापकोटा पनि पछिल्लो समय एकताको पक्षमा लागेका छन् । उनले खुलेरै पार्टी विभाजनको बिरोध गर्न थालेको बताइन्छ ।

सुदूरपश्चिममा माधवलाई १० जनाको साथ

६० सदस्यीय सुदूरपश्चिममा पनि एमालेका २५ सांसदमध्ये १० सांसदले नेकपा (समाजवादी) रोजेका छन् । सांसदहरु दीर्घ सोडारी,पूर्णा जोशी,लालबहादुर खड्का,बलबहादुर सोडारी, अमरबहादुर साउद,मना साउद, अर्चना गहतराज,कुलवीर चौधरी, सुशीला बुढाथोकी र माया भट्टले उक्त पार्टी रोजेका हुन् । एमाले उपाध्यक्ष भीम रावलको प्रभाव क्षेत्र मानिए पनि सुदूरपश्चिममा नेकपा (समाजवादी) को बलियो उपस्थितिलाई सकारात्मक नै मानिएको छ ।

टिप्पणीहरू