वामदेव पनि केपी ओलीसङ्ग सम्पूर्णत: अलग,राजीनामामा के छ ?
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पद र जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । शुक्रबार साँझ एमाले पार्टी कार्यालयमा पुगेर उहाँले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्गलाई राजीनामा बुझाउनुभएको हो ।
पार्टी अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित भए पनि त्यहाँबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले कहिले पनि अवलम्बन नगरेको आरोप लगाउनुभएको छ ।
‘बरु सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
उहाँले २०७४ सालमा भएका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘साझा घोषणा’ लाई ओलीले प्रधानमन्त्रीको कार्यकालमा लागू नगरेको समेत उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘तपाईंले गर्नुभएका कतिपय कामलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’अझै अगाडि लेखिएको छ,‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिध्दान्तलाई परिपालना गर्नुभएन ।’
‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिध्दान्तलाई परिपालना गर्नुभएन ।’
कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता विपरीत झण्डै दुई तिहाई जनताको जनादेशलाई लत्याउँदै केपी ओलीले दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भंग गरेको समेत राजीनामापत्रमा लेख्नुभएको छ ।
आफूले प्रधानमन्त्री तथा एमाले अध्यक्षलाई गलत कार्यशैलीलाई जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरु दिए पनि कार्यान्वयन नगरिएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘बरु सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
आफ्ना समकक्षी कमरेडहरुलाई समेत पटक पटक अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली ओलीले अंगाल्नुभएको गौतमले उल्लेख गर्नुभएको छ ।
उहाँले अध्यक्ष ओलीले सम्माननीय राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको समेत किटानी गर्नुभएको छ ।
टिप्पणीहरू