कमल थापा गाई दुहुँदै,पुस्तक पढ्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा गृहजिल्ला मकवानपुर पुग्नु भएको छ । बिहीबार हेटौंडा पुग्नुभएका उहाँ भोलिसम्म विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुने थापा निकटस्थहरुले बताएका छन् ।
राप्रपा नेता राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापा यसपटक बकैया गाउँपालिकामा व्यस्त देखिनुभएको छ । गाउँपालिकास्तरीय पार्टी कार्यालय उद्घाटन,किरियापुत्रीहरुसँग भेटघाट र पुराना कार्यकर्ताहरुसँग छलफलमा उहाँ बकैया केन्द्रित हुनुभएको हो ।
हिजो हेटौँडामा युवा संगठनले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै थापाले राजनीतिलाई ठेक्कापट्टासँग जोडेर भ्रष्ट बनाइएकाले युवाहरुको सक्रियतामा राजनीतिलाई शुध्द बनाउनुपर्ने बताउनुभएको छ । आज मनहरीमा क्षेत्रीयस्तरको पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम राखिएको छ ।
भोलि राजधानी फर्कनुअघि आफ्नो आश्रममा कार्यकर्ता भेटघाट रहेको जानकारी दिइएको छ । आश्रममा रहँदा साँझ बिहान उहाँले नयाँ पुस्तक अध्ययन गर्नुभएको पनि नेता बर्तौलाले बताउनुभयो । ‘काठमाडौँमा भन्दा गृहजिल्लामा अध्ययनका लागि शान्त वातावरण भएकाले नयाँ किताबहरु पढ्ने गर्नुहुन्छ,’ उहाँले बताउनुभयो ।
त्यसो त आश्रममा पालिएका गाई दुहुने र तिनका हेरचाहमा पनि थापा त्यत्तिकै सक्रिय हुनुभएको थापाको दाबी छ । शुक्रबार थापाले आश्रममा गाई दुहुनु भएको हो । आश्रममा तीन वटा गाई पालिएका छन् । गाईको हेरचाहका लागि दुई जना सहयोगी छन् ।
आगामी स्थानीय तहको निर्वाचन र पार्टी महाधिवेशनसमेत नजिकिएकाले थापाले गृहजिल्लामा सक्रियता बढाउनुभएको अनुमान गरिएको छ । आगामी चुनावमा एमालेसँग गठबन्धन गरेर जाने तयारी बारेमा नेता बर्तौलाले भन्नुभयो, ‘अहिले त्यसबारे केही पनि कुरा भएका छैनन् । हामी मूलतः महाधिवेशन लक्षित भएर हिँडेका छौँ ।’
टिप्पणीहरू