पूर्वी नेपालमा कमरेडहरुको दल परिवर्तन
नेकपा एमालेकाे वडादेखि केन्द्रसम्मकाे संगठन संरचनालाई जेठ २ अघिकाे अवस्थामा फर्काउने निर्णयकाे खिलाफमा सँस्थापन पक्ष देखिएपछि जिल्लाकाे एकता प्रक्रियामा गम्भीर असर परेकाे गुनासो छ ।
यसैकारण जिल्ला कमिटीकाे भदाै १९ मा निर्धारित बैठक बस्न सकेन । जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रदेश १ का सामाजिक बिकासमन्त्री बलबहादुर साम्साेहाङकाे टिमलाई अस्वीकार गर्ने रवैयाकाे प्रभावस्वरुप हिजो जिल्लाका केही प्रभावशाली नेता तथा स्थानीय जनप्रतिनिधिले एमाले परित्याग गरी नेकपा एसमा आफ्नाे संलग्नता जनाएका छन् ।
नेकपा विवादमा जिल्ला कमिटी नेतृत्व आफ्नाे पक्षमा नरहेपछि ओली खेमाले समानान्तर कमिटी बनाएको थियो । आफू स्वयं अध्यक्ष रहेकाे पार्टीमा आफैले सिर्जित गरेकाे समानान्तर कमिटी कायम राख्नु सहमतिमा ईमान्दार नरहनु हो भनिन्छ ।
आफू अनुकूल जिल्ला कमिटी भए सहमति कार्यान्वयन गर्ने,नभए बखेडा झिक्ने रवैयाप्रति पुराना र इमान्दार कार्यकर्ताहरुमा आशंका व्याप्त छ । यस्तै कारणबाट सूदूर पूर्व ताप्लेजुङकाे एमालेमा पनि पहिराे चल्न थालेकाे हाे ।
नेकपा एमालेकाे प्रदेश नं. १ कमिटीका सदस्य तथा ताप्लेजुङकी पुरानाे बामपन्थी नेतृ श्रीमती अम्बिका राजभण्डारीकाे नेतृत्वमा स्थानीय तहका केही जनप्रतिनिधिले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वकाे नेकपामा संलग्न रहेकाे भन्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।
यसरी जनप्रतिनिधिका अलावा जिल्ला तथा गाउँ स्तरका केही नेताले समेत आफ्नाे संलग्नता नयाँ पार्टीमा रहेकाे खुलासा गरेका छन् ।
नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिहरुमा जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीदेखि स्थानीय मेरिङदेन गाउँपालिकाका वडा सदस्यसम्म छन् ।
जिल्ला समन्वय समितिका सदस्य निमातेन्जी शेर्पाले पनि नयाँ पार्टीमा सनाखत गरे । यसै गरी मेरिङदेन ६ का वडाध्यक्ष ठाकुरसिङ लिम्बू, मेरिङदेन गाउँकार्यपालिका सदस्य तथा प्रवक्ता सूर्यमान बराइलीले समेत एमाले परित्याग गरी एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् ।
यसरी सनाखत गर्ने अन्य जनप्रतिनिधिमा साेहि गाउँ कार्यपालिका सदस्य दाेर्जी शेर्पा,वडा सदस्यहरु मानबहादुर लिम्बू,पूर्णबहादुर कामी, गजेन्द्रकुमार नाल्बाे तथा दिलमाया नेपाली रहेका छन् ।
जनप्रतिनिधिहरुले नयाँ दल राेजेकै दिन प्रदेश कमिटी सदस्य राजभण्डारीका अलावा एमाले सचिवालय सदस्यहरु छिरिङ लामा,नेत्र नेपाली,खेम वनेम,बन्जावी ओख्राबु तथा सन्त बराइली पनि नयाँ दलकाे पक्षमा खुलेका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नं.२ का क्षेत्रिय अध्यक्ष दुर्गा श्रेङ चाेङबाङ,मेरिङदेन गा.पा. सदस्यहरु लाेकमणि केदेम र उदय तुम्बाहाम्फेले समेत एकीकृत समाजवादीतर्फ आफ्नाे प्रतिवद्दता जनाएका छन् । बिध्यार्थीहरु बिपिन वनेम,पवन हाङगाम तथा मिङमा शेर्पासमेत यस अभियानमा संलग्न भएकाे बताईएकाे छ ।
टिप्पणीहरू