उदयपुरमा दुई महिला वडा सदस्यले दल रोज्ने छुट पाएनन्

एमालेको औपचारिक विभाजनपछि दल रोज्ने जनप्रतिनिधिहरुको अन्तिम दिन उदयपुरमा दुई जना वडा सदस्यलाई बन्धक बनाइएको आरोप छ । एकीकृत समाजवादी दल रोज्न सनाखतबाट बञ्चित हुनेमा कटारी नगरपालिका वडा नम्बर ३ का वीरकुमारी कायस्थ र वडा नम्बर ४ की निर्मला विश्वकर्मा रहेका छन् । दुवै जना सनाखतको निम्ति टाटा सुमोमा चढेर सदरमुकाम गाईघाट आउन लाग्दा फिल्मी शैलीमा उठाइएका हुन् । प्रत्यक्षदर्शीका अनुसार अपहरणकर्ता भने गुण्डा नभएर कटारी नगरपालिकाका उपमेयर भीमकुमारी राउत हुन् ।

उपमेयर राउतले दुवै जना चढेको टाटा सुमोलाई सडकमै मोटरसाइकल तेर्स्याएर रोकेकी थिइन् । त्यसपछि सुमोमा बसेका दुवै वडा सदस्यलाई ‘तपाईंहरुसँग कुराकानी गर्नु छ, ओर्लनुस्’ भन्दै नगरपालिकाकोे गाडीमा चढाएर लगेकी थिइन् । नगरपालिका पुगेपछि उपमेयरको कार्यकक्षमा छिरेका दुवैलाई निस्कन दिइएन । फोन सम्पर्क गर्दा दुवैले ‘हामी आज निस्कन नपाउने भयौँ,उपमेयरले निस्कन दिनु भएको छैन । हाम्रो प्रमाणपत्र पठाइ दिनुस्’ भनेपछि नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले त्यहीँ छोडेर अन्य जनप्रतिनिधिलाई साथ लिई सनाखतको लागि गाईघाट बोक्सेस्थित निर्वाचन कार्यालय लिएर आएका थिए । सो गाडीमा एमाले छाडेर एकीकृत रोज्न हिंडेका ५ जना जनप्रतिनिधि थिए ।

त्यसैगरी आज दिनभर प्रतिगमन विरुद्धको कित्तामा उभिएका तर ढुलमुले प्रवृतिका जनप्रतिनिधिले फोन स्वीच अफ गरेर बसेका छन् । कतिपय भने घरबाटै बेपत्तासमेत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र बलदेव चौधरीले सनाखतको निम्ति आग्रह गरेपछि टार्न नसक्ने अवस्था भएकोले उनीहरु फोनस्वीच अफ गरेर बेपत्ता भएका हुन् ।
उदयपुरमा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) रोज्ने जनप्रतिनिधिहरुको संख्या २८ पुगेको छ । आज अन्तिम दिनको सनाखतअनुसार एमालेबाट निर्वाचित २११ जना जनप्रतिनिधिमध्ये २८ जनाले एकीकृत समाजवादी रोजेका हुन् । यसरी रोज्नेमा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर केप्छाकी मगर, त्रियुगाका वडाध्यक्षहरु अवधेश चौधरी,पशुपति चौधरी, उदयपुरगढी ४ का वडाध्यक्ष कर्णमाया मगर र लिम्चुङबुङ ५ का वडाध्यक्ष केशरकुमार खड्कासमेत रहेका छन् ।

टिप्पणीहरू